काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनुचित आग्रह र पूर्वाग्रहका कारण संसद्को कामकारवाही प्रभावित हुने गरेको बताउनुभएको छ । संसद् दिवसका अवसरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सदनलाई प्रभावकारी बनाउन कार्यतालिका बनाएर अघि बढ्न खोजेपनि आग्रह र पूर्वाग्रहका कारण संसद्को कामकारवाही प्रभावित हुँदा संसद्को कार्यतालिकामा समेत असर परिरहेको बताउनुभयो ।

उहाँले सदनमा विरोध हुँदाहुँदै पनि निश्चित समयमा पास गर्नुपर्ने बजेटसम्बन्धी विधेयकलाई जबरजस्ती अघि बढाउनुपरेको धारणा राख्नुभयो । जबरजस्ती सदन सञ्चालन गर्नुपर्दा सरकारको दायित्व, सत्तापक्ष र प्रतिपक्षीको दायित्वका बारेमा सोच्न जरुरी रहेको उहाँले बताउनुभयो ।

सभामुख घिमिरेले चित्त नबुझे संसद् प्रभावित पार्ने कामले अहिलेको प्रणालीको विरोधीहरूलाई फाइदा पुगेको धारणा राख्नुभयो । प्रभावकारी संसद् बनाउन सशक्त सचिवालयको जरुरी रहेको उहाँको भनाइ छ । त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरुले उठाएका जनताका समस्याहरूलाई समयमै सम्बोधन गर्ने र संसद्प्रति उत्तरदायी हुने सवालमा सरकार गम्भीर हुन आवश्यक रहेको बताउनुभयो । 

सांसदले संसद्मा समस्या उठाएपछि औपचारिकताका लागि मन्त्रीहरूले जवाफ दिने तर कार्यान्वयनमा ढिलासुस्ती र उदासिनता देखिने गरेको भन्दै यसमा सबैको ध्यान जान जरुरी रहेको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले समितिहरूको कार्यदक्षता बढाउन, विधेयकमा गहन छलफल गर्ने परम्परा बसाल्न र सबै सांसदहरूलाई नीतिगत छलफलमा समान सहभागिता गराउने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो । 

उहाँले जनता र संसद्बीचको दूरी कम गर्न प्रविधिको प्रयोग, सहज पहुँच र खुला संवादको वातावरण विकास गर्नुपर्ने बताउनु भयो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0