काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरूको सृजनात्मकता जोस र चेतनालाई व्यवहारिक रूपान्तरण गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले युवाहरूका विचारलाई व्यावसायिक योजनाहरूमा बदल्नका लागि सहजिकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी रहेको समेत बताउनुभयो । 

यस्ता कार्य सरकारले मात्रै नभइ निजी क्षेत्र, शैक्षिक क्षेत्र, वित्तिय निकाय र नागरिक समाज मिलेर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उपराष्ट्रपति यादवले युवाहरूलाई व्यवसाय सुरु गर्न आवश्यक पूँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न नहुने धारणा राख्नुभयो । उहाँले व्यावसायिक योजना बजारको पहुँच ब्रान्डिङ लगायतका विषयमा मार्गदर्शन गर्न जरुरी रहेको बताउनुभयो । 

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकमा लगानीको वातावरण बनाएपनि पुँजी प्रवाह हुन नसकेको बताउनुभयो । उहाँले बस्तुका साथै सेवालाई समेत निर्यात गर्न सक्ने अवस्था सिर्जना भएको भन्दै युवाहरूले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राज्यको सीमित स्रोत साधनका कारण युवाहरूलाई स्वदेशमा रोजगार दिन नसकेकाले लाखौ युवाहरू विदेश जान बाध्य भएको बताउनुभयो । उहाँले स्वदेशमा नै रोजगारी सिर्जना गर्नका लागि सीपमूलक शिक्षाको आवश्यकता रहेको बताउनु भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0