
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योगमन्त्री उपस्थित नभएपछि सांसदहरुले आपत्ति जनाएका छन् ।
नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी उपस्थित नभएपछि सांसदहरुले आपत्ति जनाएका हुन् ।
मन्त्री उपस्थित नभएका कारण सांसदहरुले धारणा राख्न नमानेपछि बैठक स्थगित गरिएको छ । बैठकमा माओवादी सांसद सूर्यमान तामाङले उद्योगमन्त्रीको कार्यशैलीमाथि आफुहरुलाई शंका लागेको बताउनुभयो । समितिले बोलाउँदा पनि मन्त्री नआएकाले बैठक अघि बढ्न नसकेको उहाँले बताउनुभयो । समिति सभापति अब्दुल खानले नुनको विषयमा छलफल गर्न बोलाउँदा पनि मन्त्री नआएकाले गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । मन्त्री उपस्थित नभएपछि सभापति खानले बैठक स्थगित गर्नुभएको थियो ।





