
काठमाडौँ । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप सङ्कटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिले काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् । बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ । सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज हुनुपर्ने समेत उनीहरूको माग छ ।
सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् ।




