
पर्सा । नेपालको सीमावर्ती क्षेत्र पर्साको वीरगन्ज तथा भारतको मोतिहारी चेम्बर अफ कमर्समा आवद्ध व्यवसायीहरूले नेपाल भारत दुइपक्षीय व्यापार विस्तारमा जोड दिएका छन । वीरगन्ज उद्योग वाणिज्य सङ्घ र भारतको पूर्वी चम्पारणको मोतिहारी चेम्बर अफ कमर्स बीच द्विपक्षीय व्यापार सम्बन्ध विस्तार सम्बन्धी भएको छलफलमा व्यवसायीहरूले दुइपक्षीय व्यापार विस्तारका लागि काम गर्नुपर्ने साझा धारणा व्यक्त गरेका हुन ।
भारतको मोतिहारीमा आयोजित व्यापार बिस्तार सम्बन्धी कार्यक्रममा उद्योग, व्यापार, पर्यटन लगायतका क्षेत्रहरूको खस्किँदो अवस्थालाई दृष्टिगत गरेर नेपाल भारतका सीमाञ्चल क्षेत्रमा रहेको औद्योगिक एवम् व्यापारिक सम्बन्ध विस्तार सम्बन्धमा छलफल भएको हो ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले वीरगंजको बढ्दो महत्व, यसले बोकेको सम्भावना र मुलुककै आर्थिक उन्नयनमा खेलेको भूमिका उजागर गर्दै यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।
उहाँले नेपालमा औद्योगिक लगानी गर्न चाहनेहरूका लागि वीरगन्ज अत्यन्तै उपयुक्त ठाउँ रहेकोले लगानी गर्न आग्रह गर्नुभयो । अध्यक्ष गौतमले नेपालको भौगोलिक विविधताका कारण विश्वका जुनसुकै मुलुकबाट आउने पर्यटकले रोजे अनुसारको हावापानी पाउने भएकोले जोसुकैको लागि नेपाल आकर्षणको केन्द्र बनेको बताउँदै पर्यटकको रुपमा नेपालका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गर्न आग्रह गर्नुभयो ।

मोतिहारी चेम्बर अफ कमर्सका अध्यक्ष अंगद सिंहले वीरगंज नेपालको प्रमुख औद्योगिक क्षेत्र रहेको र कुल राजस्वको करिब ५० प्रतिशतभन्दा बढी योगदान रहेको र औद्योगिक लगानीको लागि पर्याप्त सम्भावना रहेकोले इच्छुकहरूलाई वीरगंज क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । साथै वीरगंज औद्योगिक विकासमा धेरै नै अगाडि बढिसकेकोले त्यहाँका उद्योगहरूले अपनाई रहेका प्रविधिहरू भित्र्याउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा दुवै चेम्बरका सदस्यहरू तथा मोतिहारी र वीरगंजका उद्योगी, व्यवसायीहरुले आ–आफ्नो उद्यम, व्यवसायसँग सम्बन्धित विषयहरूमा छलफल गरेका थिए । मोतिहारी चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्योगी, व्यवसायीहरूले राखेका जिज्ञासाको जवाफ सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपालले दिनु भएको थियो ।





