
मोरङ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउदै गृहमन्त्रीको राजिनामा माग्नु गलत भएको बताउनु भएको छ ।
सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजिनामा माग्ने कार्यले गलत नजिर बस्ने समेत बताउनुभयो । यसअघि शनिबार विराटनगरमा नै कांग्रेस नेता डा. शेखर कोइरालाले गृह मन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजिनामा दिन सुझाव दिनुभएको थियो ।
नेता सिटौलाले विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकोले राजिनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारी माथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताउनु भयो ।
उहाँले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत सङ्ग्रह आवश्यक नभएको बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समीक्षा गरेर संसोधन आवश्यक भएको बताउनु भयो ।
सिटौलाले राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने उल्लेख गर्नुभयो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति समेत आवश्यक नभएको तथा नेपालका लागि संघीय लोकतान्त्रिक संसदीय प्रणाली नै उत्तम व्यवस्था भएकाले संविधान संसोधन गरेर थप परिमार्जित गर्नुपर्ने उहाँले बताउनुभयो ।




