
काठमाडौँ । पूर्वमन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले मिटरब्याज पीडितको समस्या समाधानका लागि बिभिन्न आयोग बनेपनि त्यसका प्रतिवेदन कार्यान्वयन नभएको भन्दै पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले सर्वोच्चका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको मिटर व्याज सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन र पूर्वन्यायाधीश तेजबहादुर कार्कीको आयोगले बनाएको कार्यविधि स्वीकृत भए ८० प्रतिशत मिटर ब्याज पीडितको समस्या समाधान हुने बताउनुभयो । तर यसका लागि आफ्नो अर्को नभनी सबैमाथि अनुसन्धान हुनुपर्ने उहाँले बताउनु भयो । श्रेष्ठले आयोगमाथि आयोग बनाउने र पीडितको समस्या गिजोलिरहने राज्यको नीति सही नभएको बताउनु भयो ।
यसअघिको आयोगलाई असफल बनाएर अहिले कामचलाउ प्रतिवेदन तयार गर्न अर्को आयोग बनाइएको उहाँले बताउनुभयो ।




