काठमाडौँ । नेपालको राजनीतिमा फेरि सत्ता परिवर्तनको चर्चा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको एक्लौटी, सत्तारूढ गठबन्धनभित्रको असन्तुष्टि र प्रमुख प्रतिपक्ष दलको सक्रियताले नयाँ सत्ता समीकरणको सङ्केत देखिएको हो । सत्ता समीकरणको चर्चा चलेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेपछि सरकार परिवर्तनको दाबी गर्नेलाई बल पुगेको छ ।

विहीबार मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेशअन्तर्गत डडेल्धुरा पुगेका माओवादी अध्यक्ष दाहालले काठमाडौंमा रहेका देउवालाई आफू डडेल्धुरा रहेको जानकारी दिएका थिए । डडेल्धुरा भनेको देउवाको गृह जिल्ला हो । पुष्पकमल दाहालले काठमाडौंमा देउवालाई आफू डडेल्धुरा छु भनेर फोन गरे लगत्तै माओवादीका उपमहासचिव जनार्दन शर्मा देउवालाई भेट्न उनकै निजी निवास बूढानिलकण्ठ पुगेका थिए । माओवादी नेताहरूले बजेटको सिलसिलामा कांग्रेस सभापति देउवालाई भेटेको भनेपनि, राजनीतिका जानकारहरूले भने यो भेटलाई राजनीतिक रुपमा अर्थपूर्ण मानेका छन् । विगतमा पनि साना संवाद र व्यक्तिगत जस्ता देखिने भेटघाटहरूले ठूलाठूला सत्ता परिवर्तन गराएका उदाहरण नेपाली राजनीतिमा प्रशस्तै छन ।

त्यसैले अहिले देउवा र दाहालको यो सम्पर्कले पनि केही सङ्केत दिएको जानकारहरूको भनाई छ ।  यसअघि पनि पुष्पकमल दाहालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए ।
दाहालले माओवादी बाहिर बसेर समेत देउवालाई संसदको पुरै कार्यकाल प्रधानमन्त्री बनाउँन तयार भएको अभिव्यक्ति दिएका थिए । नेपाली कांग्रेस भित्रको ठूलो समुह सरकारको काम कारवाहीलाई लिएर असन्तुष्ट प्रकट गरिरहेका बेला माओवादी केन्द्रको लोभलाग्दो प्रस्तावले नयाँ समीकरण नबन्ला भन्न सक्ने अवस्था पनि छैन ।

कांग्रेस नेताहरूको सरकार विरोधी बलियो स्वर र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रको बढ्दो सक्रियताले प्रधानमन्त्री केपी शर्मा ओली भने संशकित बनेका छन् । माओवादीको सक्रियताले सरकार ढल्न सक्ने मनस्थितिमा रहेका प्रधानमन्त्री ओलीले बारम्बार आफूले सहमति अनुसारै सत्ता हस्तान्तरण गर्ने बाचा बारम्बार गर्दै आएका छन् ।

विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी भित्र सत्ता हस्तान्तरण गर्नु पर्ने समयमा देखाएको चलखेलले पनि काङ्ग्रेसीहरूलाई संशकित बनाएको छ । विगतमा आफूले बाचा गरे अनुसार कहिल्यै सत्ता हस्तान्तरण नगरेका केपी ओलीले अहिले पनि १४ महिना पछि कसरी सत्ता हस्तान्तरण गर्लान् भन्ने आम चासो छ । यस्तो शङ्कै शंकाबीच प्रधानमन्त्री ओलीले आफूले १४ महिना पछि शेरबहादुर देउवालाई किस्तीमा पद हस्तान्तरण गर्न बाचा गरेका छन् । 

माओवादी सत्ता बाहिर भएपनि उ सँग ३२ सिट छ । माओवादीलाई जसरी पनि ओली नेतृत्वको सरकारलाई ढाल्नु पर्ने बाध्यता छ । कांग्रेस सत्तामा भए पनि उसले एमाले नेतृत्वको सरकारलाई कहिले सम्म समर्थन गर्ने भन्नेमा अलमलमा छ । संसदको सबै भनदा ठूलो दल कांग्रेस भित्र आफै नेतृत्वमा सरकार गठन गर्नु पर्ने जबरजस्त मत बलियो बन्दै गएको छ । यस्तो अवस्थामा देउवा र दाहाल नजिकिनु, आगामी राजनीतिक समीकरणको दिशातर्फ सङ्केत गरेको हुन सक्ने चर्चा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0