
काठमाडौँ । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले देशको समृद्धि, सामाजिक न्याय, असमानता अन्त्य गर्ने दस्ताबेजका रुपमा बजेटलाई प्रस्तुत गर्न सुझाव दिनुभएको छ ।
संसदमा बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै शर्माले आम्दानी र खर्चको फाँटबारी मात्रै नभएर देशको समृद्धि, सामाजिक न्याय, असमानता अन्त्य गर्ने दस्ताबेजका रुपमा बजेटलाई प्रस्तुत गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले चालु खर्च घटाउँदै संरचनात्मक सुधारमा ध्यान दिनुपर्ने, चालु खर्चलाई ३५ प्रतिशतमा झार्नुपर्ने लगायतका सुझाव दिनुभयो ।
सांसद शर्माले विनियोजित बजेटबाट परिणाम हासिल गर्न संरचनागत सुधार बाधक बनिरहेको भन्दै संरचनागत सुधारमा सरकार कठोर ढङ्गबाट प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकताको छलफलका क्रममा आएका सुझावहरूलाई समेटेर बजेट निर्माण गर्न सुझाव दिएका थिए । साथै उनीहरूले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै सन्तुलित र सकारात्मक विकासमा ध्यान दिन समेत सुझाव दिएका छन् ।





