
काठमाडौं । नेपाल औषधी लिमिटेडद्वारा उत्पादित बिक्री नभएको गुनासोसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसँगको छलफल गरेर समस्या समाधानका लागि पहल भएकै दिन स्वास्थ्य सेवा विभागले प्रक्रिया अघि बढाएको छ ।
विभाग अन्तरगतको व्यवस्थापन महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग नियन्त्रण कार्यक्रमका लागि आवश्यक पारासिटामोल तथा जीवनजल खरिदका लागि प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ ।
महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले मन्त्रालयमा लिमिटेडसँगको छलफलमा मन्त्री पौडेलको प्रतिबद्धता पश्चात तत्काल प्रक्रिया अघि बढाएको बताउनु भयो । नियमअनुसार खरिद सम्झौता प्रक्रिया अघि बढ्नेछ, रायमाझीले बताउनु भयो ।
मंगलबार मन्त्रालयमा मन्त्री पौडेलको सक्रियतामा मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीबीच छलफल भएको थियो । मन्त्री पौडेलले आवश्यक औषधी नियमअनुसार मन्त्रालयले खरिदका लागि सकारात्मक भएको भन्दै प्रक्रिया अघि बढाउने बताउनु भएको थियो ।
उहाँले स्वास्थ्य संस्थामा आवश्यक भनेर सरकारले तोकेका औषधी समेत तीनै तहमा पुग्ने गरी खरिदका लागि समेत सकारात्मक रहेको बताउनु भएको थियो । लिमिटेडको औषधी बिक्रीमा देखिएका समस्या समाधानका लागि मन्त्रालयमा भएको छलफलका क्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा लिमिटेडका अधिकारी रहने गरी समस्या समाधान समिति बनाउने समझदारी भएको थियो ।




