
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका उपदेशहरू विश्व शान्तिका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । २६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्बिनी दिवसका अवसरमा सोमबार लुम्बिनीमा आयोजना गरिएको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धका शान्तिको सन्देशहरूका अर्थ अहिले पनि रहेको र विश्वका लागि महत्वपूर्ण रहेको बताउनुभएको हो । हालै भारत र पाकिस्तानबीच अलिकति हात हालाहाल भएको तर अघि बढ्न नपाएको उल्लेख गर्दै उहाँले संयमका लागि धन्यवाद दिनुभयो ।
उहाँले हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना नेपालले गर्दै कुरा समेत गरेको बताउनु भयो। उहाँले भन्नुभयो – ‘बुद्धका उपदेशहरू हुन् । ती उपदेशमार्फत जुन शिक्षा बुद्धले दिनुभएको छ । ती विश्वका लागि महत्वपूर्ण छन् । झन्डैझन्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौ, विस्तार हुन नपाओस् । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना ग-यौं, उहाँहरूसँग पनि कुरा ग-यौं । नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही केही आरोप प्रत्यारोपको स्थिति छ । अर्थात् बुद्धका शान्तिको सन्देशहरूका अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्व छ ।’
उहाँले अहिले मासड्रिस्टक्सनका हतियारहरूको निर्माण र थुप्रो लगाउने काम भइरहेको र यो मानव र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज भएको उल्लेख गर्नुभयो । यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि फेरि पनि विश्व शान्तिको पक्षमा रहनुपर्ने उहाँको भनाइ छ । त्यस्तै प्रधानमन्त्री ओलीले लुम्बिनी क्षेत्रको विकास, यसको वफर जोनको विकास लगायतका कुराहरूमा सरकारले विशेष ध्यान दिने धारणा राख्नुभयो । उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्धिजमको सन्दर्भमा खोज अध्ययन र अनुसन्धानमा ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले बृहत लुम्विनी गुुरुयोजनालाई सकेसम्म छिटै पूरा गर्ने सरकारको प्रयास रहेको जानकारी दिनुभयो ।




