काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सरकारको नेतृत्व आलोपालो गर्नेगरी सहमति गरेर बनेको समीकरणको भविष्यलाई लिएर शंका उब्जन थालेको छ । दुवै दलका कतिपय नेताहरू अहिलेको समीकरणलाई लिएर असन्तुष्ट हुनु, प्रतिस्पर्धी दलमा बढ्ने टसलको सम्भावना लगायतका विषयले कतिपय राजनीतिका जानकारहरू यो समीकरण समेत लामो समय नजाने विश्लेषण गर्ने गरेका छन । यस्तो तर्कलाई बल पु-याउने गरि काङ्ग्रेसको इतर समूहका नेताहरू ओली नेतृत्वको चर्को आलोचना गर्ने गरेका छन । काङ्ग्रेसको इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले त सरकारमा गएका मन्त्रीबाहेक अरू कसैले एमालेसँग सहकार्य गर्न आवश्यक नभएको बताउन थालेका छन । 


भोलिको प्रतिस्पर्धी एमाले नै हुन्छ भन्ने कुरा ख्याल गर्नुपर्ने बताउँदै उनले यस्तो अभिव्यक्ति दिएका हुन । नेता कोइरालाले संयन्त्र बनाउन नहुने भन्दै जिल्लास्तरमा संयन्त्र बनाएको भए तोड्न निर्देशन दिएका छन । नेता कोइरालाले सरकारले संविधान संशोधनबारे एक सिन्को नभाँचेको बताए । भ्रष्टाचार पनि बढिरहेको भए पनि मन्त्री र प्रधानमन्त्रीहरू नीतिगत निर्णय भनेर पन्छिएको उनको आरोप रहेको छ । इतर समूहका नेताहरूको अभिव्यक्तिले उसै त सरकारको आयुमाथि शङ्का उब्जने गरेको छ । त्यसमाथि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओली समीकरण लामो समय जाने तथा सहमति अनुसार नै आलोपालो नेतृत्व हुनेमा एक अर्कालाई आश्वस्त पार्ने गरि आउने गरेका अभिव्यक्तिले समेत कतिपयलाई शङ्का गर्ने ठाउँ दिएको छ । प्रमुख प्रतिपक्षी दलका अध्यक्ष पुष्पकमल दाहाल समेत पुनः ३२ सिटको जादु चल्नसक्ने बताइरहेका छन । 


तर प्रतिपक्षहरू सत्ताको लगाम आफ्नो हातमा पर्छ कि भनेर मुख मिठ्याएपनि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक रसायन गज्जवको रहेको भन्दै समीकरण तलमाथि नहुने दाबी गर्नेहरू समेत छन । ओली र देउवाबीच सत्ता र शक्तिको बुझाइ साझा भएकाले ओलीका लागि कांग्रेससँगको समीकरण कम्फर्टेबल हुने कतिपयको धारणा छ । त्यसो त समीकरण फेरबदलको कोसिस गरेपनि देउवा र ओलीलाई सन्तुलनमा राख्ने काम सत्ता बाहिर पुगेको ३२ सिट सङ्ख्याको माओवादीको हुने विश्लेषण कतिपयको छ । खासगरी शक्तिप्रति ओलीको उच्च महत्वाकाङ्क्षालाई बाहिर रहेको माओवादीको शक्तिले नियन्त्रण गर्ने बुझाइ जानकारहरूको छ । कांग्रेस र माओवादीको गठबन्धन भत्काउन कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बारम्बार अफर गरेका एमाले अध्यक्ष केपी शर्मा ओली तिनै देउवाको प्रस्तावमा प्रधानमन्त्री बनेर तीन वर्षपछि सिंहदरबारमा पुनरागमन गरेका हुन । 


ओली र देउवाको मिलेको विगतलाई हेर्दा त्यस्तो समीकरण तत्काल तलमाथि हुने सम्भावना भने कम देखिन्छ । प्रतिनिधिसभा विघटनका बेलामा ओलीले आफू अनुकूल अध्यादेश जारी गरेर संसदीय सुनुवाइबिनै ५२ संवैधानिक पदाधिकारीको नियुक्ति गर्दासमेत देउवाले भाग खोजेर मौन बसेको उदाहरण ताजै छ । 


तर बाहिर रहेको माओवादी केन्द्र ओलीका लागि दबाब बढाउदै लगेको देखिन्छ भने कांग्रेसकै इतर समूहका नेतामात्र होइन, देउवाकै विश्वासपात्र समेत अहिले ओली सरकारसंग सन्तुष्ट देखिदैनन । कांग्रेस र माओवादी कुनै पनि बेला मिल्न सक्ने तरबारको धारमा रहेकाले पनि ओली नेतृत्वको समीकरण लामो जानेमा शङ्का गर्ने ठाउँ समेत छ ।
कांग्रेसकै इतर समूहका नेताहरू देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न चाहन्छन । यस्तो अवस्थामा दुई दलबीच अलिकति तलमाथि हुनासाथ गठबन्धनको भविष्यमाथि फेरि प्रश्न उठ्न सक्ने अवस्था जिवितै छ ।

अहिले लगातार जसो सरकारको आलोचना भैरहेको समयमा त्यसैलाई बल पुग्नेगरि कांग्रेसका नेताहरूको अभिव्यक्ति निरन्तर आउँदा समीकरणमा भित्रभित्रै दरार देखिन थालिसकेको राजनीतिका जानकारहरूको वुझाई देखिन्छ । निर्वाचन यता राजनीतिक विचार दर्शनभन्दा पनि भागवण्डा मिल्नुपर्ने सत्ता राजनीतिमा यसै होला भन्न नसकिएपनि ८४ सम्मै यो समीकरण जाने नेताहरूको दाबीका बाबजुत आइरहेका कतिपय अभिव्यक्ति र शक्तिको चलखेलले कुनैपनि समय समीकरण परिवर्तन नहोला भन्न सकिने अवस्था भने छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0