
काठमाडौँ । शिक्षकहरूले आन्दोलन जारी राखेका छन् । आफुहरुसंग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा बुधबार पनि शिक्षकहरूले माइतिघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् । एसइइ काे उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरि कार्यथलोमा फर्किन सरकारले अनुुरोध गरेको थियो । तर महासङ्घले सङ्घीय संसद्को अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भएसपछि मात्रै आन्दोलन रोकिने बताएको छ ।
शिक्षकहरूको निरन्तरको आन्दोलनका कारण मुलुकभरको शैक्षिक गतिविधि प्रभावित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आन्दोलनरत शिक्षकहरूलाई माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । मन्त्री भट्टराईले माग सम्बोधन गर्नका लागि नै संसद्को अधिवेशन आह्वान गरेको बताउनु भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । माग सम्बोधन गर्न अधिवेशन आह्वान गरेको जनाउँदै सरकारले आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेपनि, शिक्षकहरूले आन्दोलन नरोक्ने जनाएका छन् ।





