काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षमा नयाँ सरकार बन्ने अभिव्यक्ति दिएपछि त्यसले नेपाली राजनीति तरङ्गित बनेको छ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठकनै बसेर दाहालको अभिव्यक्ति खारेज गरेको तथा त्यस्तो कुनै सम्भावना नभएको बताएको छ । यस्तै कांग्रेस नेताहरूले समेत सार्वजनिक अभिव्यक्तिमा यो हल्लामात्रै भएको बताउने गरेका छन । यद्यपि कांग्रेस नेताहरूको निरन्तरको असन्तुष्टिमा प्रमुख प्रतिपक्षको सत्ताउन्मुख गृहकार्यले यस्तो अवस्था नआउला भन्न सकिने अवस्था भने देखिदैन ।

दाहालको त्यो अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा एक खाले आशङ्कासमेत पैदा गरिदिएको छ । वर्तमान सरकार प्रति आफ्नो धारणामा कांग्रेस सभापति अडिग रहेकोले तत्काल त्यस्तो सम्भावना नरहेको नेताहरूको प्रतिक्रिया छ । यद्यपि कांग्रेस नेताहरूको सार्वजनिक असन्तुष्टिले त्यो आश्वस्त पार्ने अभिव्यक्ति मात्र हुनसक्ने विश्लेषण गर्नेहरू समेत छन ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सरकारको नेतृत्व आलोपालो गर्नेगरि सहमति गरेर बनेको समीकरणको भविष्यलाई लिएर शङ्का उब्जन थालेको अलि लामै समय भैसकेको छ ।

दुवै दलका कतिपय नेताहरू अहिलेको समीकरणलाई लिएर असन्तुष्ट हुन, प्रतिस्पर्धी दलमा बढेको टसलले त्यो सम्भावना देखाउने गरेको पनि छ । यिनै विषयले  कतिपय राजनीतिका जानकारहरु यो समीकरण समेत लामो समय नजाने विश्लेषण गर्ने गरिरहेको समयमा प्रतिपक्षी दलका नेताबाट आएको अभिव्यक्तिले थप शंका पैदा भएको छ । 

यता कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओली समीकरण लामो समय जाने तथा सहमति अनुसार नै आलोपालो नेतृत्व हुनेमा एक अर्कालाई आश्वस्त पार्ने गरि आउने गरेका अभिव्यक्तिले समेत कतिपयलाई शङ्का गर्ने ठाउँ दिएको छ । ओली र देउवाबीच सत्ता र शक्तिको बुझाइ साझा भएकाले ओलीका लागि कांग्रेससँगको समीकरण कम्फर्टेबल हुने मत राख्नेहरू पनि छन । त्यसमाथि कांग्रेसकै इतर समूहका नेताहरू देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न चाहन्छन

यस्तो अवस्थामा दुई दलबीच अलिकति तलमाथि हुनासाथ गठबन्धनको आयु सकिने सम्भावना बलियो देखिन्छ । यही बुझेका प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल नयाँ समीकरण बनेदेखिनै भत्काउन अग्रसर देखिन्छन । माओवादी केन्द्रको ध्यान सत्ता भन्दा जनतातिर रहेको बताउने गरेको भएपनि उनको ध्यान भने सत्ता केन्द्रीत नै देखिन्छ । 

त्यसो त कांग्रेस महामन्त्री गगन थापाले समेत पछिल्लो समयमा सरकारप्रति असन्तुष्टि पोख्न थालेका छन । सरकारको गति ट्राक्टरको जस्तो भएको भन्दै उनले सार्वजनिक अभिव्यक्ति नै दिएका छन । यद्यपि नेपाली कांग्रेसका इतर समूहका नेताहरुमा देउवा रोक्न सक्ने सामथ्र्य देखिदैन भने अहिलेको समीकरण भत्किएमा समेत देउवा नै प्रधानमन्त्री हुने सम्भावना बलियो देखिन्छ । त्यसैले पनि सार्वजनिक असन्तुष्टि पोखेपनि समीकरण परिवर्तनको खेलमा इतर समूहका नेताहरू नलाग्ने वुझाई अधिंकासको छ । 

यद्यपि राष्ट्र बैंकको गभर्नर नियुक्ति, अतिरिक्त प्रहरी महानिरीक्षकको बढुवा, सडकमा देखिएका विभिन्न समूहको आन्दोलन र सरकारको कार्यशैलीका विषयमा कांग्रेस नेताहरूबाट टीकाटिप्पणी हुन थालेपछि सत्ता गठबन्धनको आयु घट्दै गएको वुझ्न सकिन्छ । 

 कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामकारबाहीप्रति सार्वजनिक मञ्चमा आलोचना सुरु गरेका छन् । ओली नेतृत्वको सरकारलाई सुरुदेखि सघाउँदै आएका कांग्रेस महामन्त्री थापाले समेत आलोचना थालेपछि सत्ता सहयात्रामा असन्तुष्टि वाहिरै देखिएको छ । यद्यपि असमझदारी हटाउने वा बढाउने गरि दलहरुले कसरी काम गर्छन त्यो भने समयले नै देखाउने छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0