
भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा अन्तर्गत आइतबार तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ठड्याइएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउन उक्त योसिँद्योःकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ ।
प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन ढालेपछी नौ दिन आठ रात लामो बिस्का: जात्रा सम्पन्न हुने परम्परा छ ।हात नभएको लिङ्गो ढालेपछि बिस्केट जात्राको अन्त्य हुने भएकाले पनि नेवार समुदायमा यो लिङ्गो उभ्याउनुको ठूलो महत्व रहेको वनस्पतिविद्हरूको भनाइ छ ।
लिङ्गो जात्रा हेर्नुले सुख, शान्ति, समृद्दि, सहकाल आउनुका साथै शत्रु नास हुन्छन् भन्ने धार्मिक मान्यता रहको छ ।नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरुवात गरिन्छ ।




