
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी राजनीतिमा लागेसँगै पार्टीलाई आफ्नो एजेन्डामा हिँडाउँदै आएका छन । प्रष्ट विचार र जनप्रिय नेताको छवि बनाएका थापालाई आफ्ना एजेन्डा प्राथमिकतामा पार्न महामन्त्री भएपछि थप सहज भएको छ । त्यसो त सभापतीय प्रणाली रहेको कांग्रेसमा जिम्मेवारी तोक्ने तथा अन्य पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने वा निर्वाचनमा उम्मेदवार तोक्ने, सरकारमा सामेल हुँदा मन्त्रीको सिफारिसमा सभापति देउवा हावी हुँदै आएको भएपनि पार्टीमा आफ्ना एजेन्डा स्थापित गर्ने सन्दर्भमा भने महामन्त्री थापा अगाडि देखिएका छन ।
महामन्त्री थापा आफ्ना मुद्दामा प्रस्ट दृष्टिकोण राख्ने नेताका रुपमा चिनिन्छन् । त्यसो त उनी कांग्रेसले निर्णय नगर्दै गणतन्त्रको नारा लगाउने नेता हुन । पछिल्लो समयमा समेत राजनीतिक मुद्दाहरू महामन्त्री थापाले उठाउँदै आएका छन । उनले उठाएका मुद्दाहरूमा पार्टी पछि लाग्ने गरेका थुप्रै उदाहरण छन । गणतन्त्र, संविधानसभा लगायतका मुद्दा पार्टीभन्दा पहिले उठाएका थापालाई महामन्त्री भएपछि मुद्दा उठानका हिसाबले थप सहज भएको छ । पार्टीमा केन्द्रिय सदस्य रहँदा देखिनै पार्टीका शीर्ष नेताहरूलाई समेत प्रश्न गर्दै जनप्रिय छवि निर्माण गरेका थापालाई अहिले महामन्त्री पदले सहजता प्रदान गरेको छ ।
पार्टी भित्र मात्र होइन, कतिपय समाजका मुद्दा उठाउँदा, भ्रष्टाचार अनियमितताका विषयमा कुरा उठाउँदा उनलाई पार्टी बाहिरकाहरूले समेत कटु आलोचना गर्ने गरेका छन । सहभागी नभएकै अनेकौँ विषयमा जोडेर विरोधीहरूले प्रहार गर्दा समेत थापाले विषयको उठान जारी नै राखेका छन । कुनै समयमा थापाले उठाएका विषयहरूमा विरोधीहरूले चर्को आलोचना गर्ने गरेको भएपनि अन्ततः नेपाली राजनीतिमा समेत उनले उठाएका विषय सत्य सावित हुने गरेका मात्र छैनन । अन्य दल र दलका कार्यकर्ता समेत थापाले उठाएकै विषयमा सहमत हुने गरेका छन ।
प्रधानमन्त्री हुँदा केपी ओलीले दुईपटकसम्म प्रतिनिधिसभा विघटन गर्दा थापाले न्यायालयलाई गरेको खबरदारी अझै पनि धेरैले सम्झन्छन् । पार्टीभित्रकै कतिपय नेताहरू संलग्न रहेको भनिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत अनुसन्धानमा खुट्टा नकमाउन सरकारलाई आग्रह गरेका थिए ।
विपक्षमा हुँदा होस अथवा सत्तामा हुँदा यस्ता मुद्दामा सरकारलाई दरिलो साथ र सचेत गराएका थापाले सहकारीको विषय समेत प्राथमिकताका साथ उठाएका थिए । सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी लगायत सहकारीमा हजारौं नागरिकले जम्मा गरेको झण्डै अर्ब बराबरको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको प्रत्यक्ष संलग्नता रहेको तथ्यगत प्रमाण प्रशस्तै रहेको दाबीसहित संसदीय छानबिनको मागमा थापाले कांग्रेसका तर्फबाट नेतृत्वदायी भूमिका खेलेका थिए ।
उनले सहकारी ठगिका विषयमात्र उठाएका होइनन, यसअघि भारतीय नाकाबन्दी, संसद् विघटन, लिपुलेक प्रकरण लगायतमा समेत विषयका हिसाबले नेपाली राजनीतिमा नेतृत्व दायी भूमिका निर्वाह गरेका छन भने पार्टीलाई समेत आफुले उठाएका मुद्दामा संगै लिएर जान वाध्य पारेका छन ।
विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेका सामयमा कतिपयले सभापति शेरबहादुर देउवालाई चुनावमा जाँदा पहिलो दल बन्न सकिने भन्दै उक्साइरहेका थिए । तर महामन्त्री थापाले नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै कानूनी लडाईंको स्थितिमा पु-याएका थिए ।
उनले सहकारीको विषयमा पूर्वगृहमन्त्री रविको मात्र विरोध गरेका होइनन, कोरोना संक्रमणको समयमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको विषयलाई जोडतोडका साथ उठाएका थिए । एजेन्डामा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने वुझेका कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले थापालाई भरपुर साथ दिएको देखिन्छ ।
त्यसो त कांग्रेस महाधिवेशनको मिति आउन अझै लामै समय बाँकी छ । तर १५ औ महाधिवेशनको चर्चा सुरु भैसकेको छ । विधानतः वर्तमान सभापति शेरबहादुर देउवा बाहिरीदै गर्दा गगन थापाले कांग्रेसको नेतृत्व लिनसक्ने चर्चा समेत चलेको छ । शेखर कोइराला र शशांक कोइराला भावी समापतिको उम्मेद्वार बन्ने विषयले अहिले देखिनै चर्चा पाएको भएपनि मुद्दा उठान र त्यसको नेतृत्व गर्नसक्ने नेताका रुपमा सभापति देउवाले थापालाई साथ दिनसक्ने विश्लेषण समेत कांग्रेसवृत्तमा छ ।




