
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको जनाएको छ । रास्वपाले आफ्ना सभापति लामिछानेमाथि ज्यादती भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरू आयोगको ध्यानाकर्षण गराउन आयोगको कार्यालयमा पुगेका थिए । लामिछानेको मानव अधिकार रक्षाका लागि आयोग पदाधिकारीको ध्यानाकर्षण गराएको रास्वपाले जनाएको छ ।

सहकारीको रकम ठगी कसुरमा चैत २२ मा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालत रूपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएपछि लामिछानेलाई प्रहरीले काठमाडौँस्थित उनको निवासबाटै पक्राउ गरेको थियो ।




