
काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैङ्कका गभर्नर चाँडै नियुक्त हुने जनाएको छ ।मङ्गलबजार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गभर्नर सिफारिस समितिले गृहकार्य गरिरहेको भन्दै राष्ट्र बैङ्कका गभर्नर चाँडै नियुक्त हुने बताउनुभएको हो । उहाँले दुई दलको बीचमा भागबन्डा नमिलेर गभर्नर नियुक्त हुन नसकेको भन्ने कुरामा सत्यता नरहेको उल्लेख गर्नुभयो ।
नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य समेत भइरहेको अवस्थामा गभर्नर नियुक्तिको ढिलाइले कुनै असर नपर्ने उहाले बताउनुभयो । त्यस्तै मन्त्रिपरिषद्का निर्णय सुनाउँदै प्रवक्ता गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यस्तै बैठकले नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा मोहन कुमार तामाङलाई नियुक्त गरिएको प्रवक्ता गुरुङले बताउनुभयो ।
त्यस्तै मन्त्रिपरिषद्ले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज गरेको छ भने वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।







