
विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा फर्किने कार्य उपयुक्त नभएको बताउनुभएको छ । मङ्गलबार विराटनगरमा बोल्दै अध्यक्ष नेपालले राष्ट्रपति वा उपराष्ट्रपतिको पद सक्रिय राजनीति भन्दा बाहिर हुने भएकाले यसलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले राष्ट्रपति भएपछि राजनीतिबाट बिदा हुनुपर्ने भएकाले आफूले यसअघि सो पद स्वीकार नगरेको उहाँले बताउनु भयो । अर्को फरक प्रसङ्गमा अध्यक्ष नेपालले भारतले राजसंस्था पुनर्स्थापनामा आफ्नो कुनै संलग्नता नभएको बताएको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले पनि यो विषयको खण्डन गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले राजतन्त्र कुनै हालतमा नफर्किने बताउनु भयो ।





