
प्रणय कुमार साह
पर्सा । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण एवम् पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शपथ ग्रहण समारोहमा बोल्दै वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष एवम् वरिष्ठ उद्योगपति बाबुलाल अग्रवालले वीरगञ्ज तथा यस क्षेत्रले राष्ट्रिय राजस्वमा पुर्याइरहेको योगदानको सापेक्षता सरकारले जुन घनत्वका साथ यस क्षेत्रको समस्या समाधान गर्नु पर्ने हो सो हुन नसकेको बताउँदै नेपालकै ठूलो औद्योगिक कोरिडोरको रुपमा रहेको वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरलाई भौतिक सुविधा सम्पन्न बनाउने काम आजसम्म हुन नसकेको तर्फ दुःख व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, बैँक तथा वित्तीय संस्थाको भूमिका, उद्योग व्यापारको अवस्थालाई तत्काल राहत प्रदान गर्ने गरी राज्यका नीति नियम र प्रवर्द्धनात्मक कार्यक्रमहरू शीघ्र घोषणा हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हरि प्रसाद गौतमले यस पर्सा बारा क्षेत्रको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रले बोकेको आर्थिक महत्व, सम्भावना र चुनौती बारे प्रष्ट पार्नु भएको थियो ।
उहाँले आफ्नो २ वर्षे अध्यक्षीय कार्यकालमा अघि सार्ने योजना तथा नीतिहरू प्रष्ट पार्नुभयो । नवनिर्वाचित अध्यक्ष गौतमले उद्योग, व्यापार, व्यवसाय, कर, राजस्व, भन्सार, स्थानीय विकास, बैँक तथा वित्तीय संस्थासँग सम्बन्धित समस्याहरूको समाधानको लागि प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, गभर्नर लगायतका सम्बद्ध निकायहरूसँग बसेर छलफल तथा समस्या समाधानको लागि पहल गरिने बताउनुभयो । वहाँले वीरगञ्ज भन्सार, आईसीपी, आईसिडी को भौतिक पूर्वाधारमा सुधार, आईसीपी, आईसीडी परिसरभित्र आयातकर्ताहरूले भोग्नु परिरहेको व्यवहारिक कठिनाइ, सेवाग्राहीहरुबाट यदाकदा आइरहेका विभिन्न गुनासाहरूको उचित समाधानका लागि सम्बन्धित पक्षसँग छलफल गरी निराकरणका लागि पहल गर्ने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य एवम् वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष सुबोध कुमार गुप्ताले वीरगञ्ज उद्योग वाणिज्य संघले यस पर्सा बाराको उद्योग, व्यापारका साथै राष्ट्रिय अर्थतन्त्रको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो ।
डा. गुप्ताले सङ्घका नवनिर्वाचित अध्यक्ष गौतमले सङ्घको गरिमा र छविलाई उज्यालो बनाउने तर्फ जोडदिंदै उद्योगी, व्यवसायीहरूको साझा समस्या समाधान गर्ने तर्फ आफू लगायत सम्पूर्ण पूर्व अध्यक्षहरूको सक्रिय सहयोग रहनेमा जोडदिनु भएको थियो ।
कार्यक्रममा अध्यक्ष अनिल कुमार अग्रवालले स्वागत भाषण दिंदै वीरगञ्ज नाका अन्र्तराष्ट्रिय व्यापार र राजश्व दुवैका लागि महत्वपुर्ण भएको भएपनि सरकारले यहाँका उद्योगी व्यपारीको हित हुने गरि काम गर्नुको सट्टा दुःख दिने काम मात्रै गरेको कुरामा जोड दिनुभयो ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा कार्र्यसमिति सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत बालमकुन्द खरेलले प्रमाणपत्र वितरण गर्नुका साथै शपथग्रहण गराउनुु भएको थियो ।





