
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी डिल्लीबजार कारागारबाट रिहा हुनुभएको छ ।
अनधिकृत पत्रका आधारमा पक्राउ गरेको पुष्टि भएपछि चौधरीलाई रिहा गरिएको हो । टीकापुर घटनामा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न भन्दै बुधबार दिउँसो प्रज्ञा प्रतिष्ठान कमलादीबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेलगत्तै डिल्लीबजार कारागारमा बुझाइएको थियो ।
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र काट्नुभएको थियो । उक्त पत्र अनधिकृत भएको सर्वोच्च अदालतले जनाएको छ । पत्र अनधिकृत भएको पुष्टि भएसँगै सर्वोच्चले चौधरीलाई थुनामुक्त गर्न कारागारलाई पत्र पठाएको थियो । सर्वोच्चले प्रेस विज्ञप्ति जारी गर्दै कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले कार्यान्वयन नगर्न अनुरोध गरिएको जनाएको छ ।
अनधिकृतरूपमा पत्र लेख्ने अधिकृतलाई कानुनबमोजिमको कारबाहीको प्रक्रिया थालिसकेको सर्वोच्चले जनाएको छ । यसैबीच जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टी एकता भाड्नका लागि षड्यन्त्र भएको टिप्पणी गर्नुभयो । उहाँले यो सामान्य त्रुटि मात्रै नभएको र कर्मचारीलाई मोहरा बनाइएको उल्लेख गर्नुभयो ।
उहाँले दुई पार्टीबीच छलफल गरि आवश्यक कदम चाल्ने उल्लेख गर्नुभयो ।




