काठमाडौँ । शैक्षिक सत्र २०८२ का लागि छात्रवृत्ति विवरण अनिवार्य पेश गर्न काठमाडौँ महानगरले आग्रह गरेको छ । 

काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षासम्बन्धी व्यवस्था गरिएकोमा सोही कानून अनुसारको आधारमा यस्तो विवरण माग गरिएको हो । 

सोही कानूनको आधारमा  शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका ४ सय ६५ विद्यालयबाट १३ हजारभन्दा बढी विद्यार्थीहरूले र शैक्षिक सत्र २०८१ मा १९ हजारभन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको महानगरले जनाएको छ । 

यस वर्ष पनि अघिल्ला शैक्षिक सत्रहरूमा जस्तै विद्यालयहरूको सहजिकरणका लागि महानगरले स्कलरसिप इन्ट्री सिस्टम निर्माण गरेको छ । 

विद्यालयहरूले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण सम्बन्धित विद्यालयलाई इमेल तथा एसएमएसमार्फत प्रदान गरिएको युजरनेम र पासवर्ड प्रयोग गरी जेठ १ गतेभित्र अनिवार्य रूपमा पेस गर्नु हुन महानगरले भनेको छ । 

नियमअनुसार विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ र ५७ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गरिनेछ वा सो ऐन तथा अन्य प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही गरिने महानगरले जनाएको छ  ।

काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदा नियमानुसार जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, हिंसा पीडित तथा शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनु पर्ने प्रावधान रहेको छ ।

विद्यालयमा भर्ना भएका कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी तोकिएअनुसार छात्रवृत्ति प्रदान गर्नु पर्ने महानगरले जनाएको छ । यसका लागि विद्यालयको सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा उनीहरूका अभिभावकबाट आवेदन सङ्कलन गरी २०८२ साल जेठको पहिलो हप्ता भित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउनु महानगरले भनेको छ । 

छात्रवृत्ति वितरण गर्दा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा ३ अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयबाट मात्र वितरण गर्नु पर्नेछ । समितिले छनोट गरेको नामावली मात्र मान्य हुने महानगरले जनाएको छ । अन्यथा कानुनबमोजिम कारबाही गरिने जनाइएको छ । 

सबै विवरण प्राप्त भएपछि महानगरले छात्रवृत्तिको सूची सार्वजनिक गर्ने जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
18
+1
0
+1
0