
प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर बनाएको सरकार नौ महिनामै सङ्कटमा देखिएको छ । गभर्नर नियुक्तिमा ढिलाइ, शिक्षक आन्दोलन सम्बोधनमा आलटाल, एकपछि अर्को बदनामी कमाउने निर्णय जस्ता कारणले एमालेसँग मिलेर धेरै लामो समय जान नसक्ने देखिएको कांग्रेस नेताहरू बताउन थालेका छन् ।
हुन त सरकार ढल्ने चर्चाले दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि ढुक्क भएका छन् । देउवाले थाइल्यान्डबाट फर्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकार केही नहुने भनेपछि ओली ढुक्क बनेका हुन् । यति सम्मकी ओलीले गत शनिबार एमाले संसदीय दलको बैठक नै बोलाएर सरकार ढल्ने हल्ला मात्रै भएको ब्रिफिङ गर्न समेत भ्याए ।
ब्रिफिङमा उनले भने – सरकार ढल्दै छ भनेर चलाएको हल्ला हो । त्यसको पछि लाग्नु हुँदैन । शेरबहादुरजी फर्केर आउनेबित्तिकै सरकार ढल्छ भन्ने थियो । विमानस्थलमा ओर्लिनेबित्तिकै ढल्छ कि जस्तो पारेका थिए, ढल्यो ढल्यो, बांगिसकेको छ, शेरबहादुरजी आउनेबित्तिकै ढलिहाल्छ । मैले साथीहरूलाई भन्दै आइरहेको छु, भ्रम फिँजाउने तत्त्वहरूले भ्रम फिजाइरहन्छन्, यसको पछाडि नकुद्नुस्, काममा लाग्नुस्, मिसन २०८४ मा लाग्नुस् । ओलीको यो ब्रिफिङ लगत्तै शनिबार साँझ नै उनले बालुवाटारमै देउवासँग भेट गरे । देउवासँगको उक्त भेटवार्तापछि प्रधानमन्त्री ओली सरकार नढल्नेमा ढुक्क जस्तै देखिन्छन् ।
तर प्रधानमन्त्री ओली ढुक्क बनिरहँदा सरकारका कामप्रति कांग्रेस नेताहरू नै सन्तुष्ट देखिदैनन् । देउवा र ओलीबीच भेट भएको दोस्रो दिन कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले दाङ पुगेर प्रधानमन्त्री ओलीको भूमिका प्रभावकारी नभएको टिप्पणी गरे । उनले भने –दुई ठूला दल मिलेर सरकार बने पनि अपेक्षाकृत रूपमा जनताको गुनासो सम्बोधन गर्न सकेको छैन । शिक्षक आन्दोलन तथा नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन सक्नुभएन । प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको छ । सक्षम, योग्य र अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने गभर्नर नियुक्त हुनुपर्छ ।
प्रतिपक्षले सरकारको आलोचना गर्नुलाई सामान्य रूपमा लिन सकिन्छ । तर, सत्तापक्षकै सांसदहरूले खुला रूपमा सरकारको आलोचना गर्न थालेका छन् । अनि विभिन्न माग राख्दै भएका आन्दोलनहरूले सरकार घेरिएको छ । प्रतिपक्षका सांसदले सरकारले कुलमान घिसिङलाई दुःख दियो भन्दा सत्ता पक्षका सांसदहरू नै टेबल ठोक्न थालेका छन् । आइतबारको संसद बैठकमा प्रतिपक्षका सांसद माधव सापकोटाले सरकारको आलोचना गर्दा सत्ता पक्षका सांसद पूर्णबहादुर तामाङ अर्थात कान्छारामले टेबुल ठोकिरहेका थिए ।
सरकारले काममा गति लिन नसकेको भन्दै सत्तापक्षले समेत आलोचना गरिरहँदा प्रधानमन्त्री भने आफ्नो सरकारले काम गरेको दाबी गर्दै आएका छन् । तर, पछिल्लो समय सरकारको आलोचना बढ्दै गएको देखिएको छ । बजेट ल्याउनुभन्दा पहिला नै सरकारले तत्काल गर्नुपर्ने कामहरू पनि छन् । शिक्षकहरू आन्दोलनरत छन् । आवासीय चिकित्सकहरू पनि आन्दोलनमा आएका छन् । सरकारले यी समस्याको पनि बेलैमा समाधान खोज्नुपर्छ । हरेक क्षेत्रमा बल प्रयोग गरेर मात्र हुँदैन ।





