
काठमाडौँ । शिक्षकहरूको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै संघीय संसद्मा विपक्षी सांसदहरुले विरोध गरेका छन ।
सोमबार संघीय संसद्को प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनीहरूले शिक्षकहरुसंग सहमति गर्नुको साटो उनीहरूमथि दमन गरिएको भन्दै विरोध गरेका हुन ।
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले शान्तिपूर्ण रुपमा धर्ना बसेका शिक्षकहरू माथि सरकारले दमन गरेको बताउनु भयो । संविधान निर्माणंसंगै समयमा नै नया ऐन बनाउन नसकेकाले शिक्षकहरु बाध्य भएर आन्दोलनमा आउनुपरेको उहाँले बताउनुभयो । उहाँले ऐन जारी गर्नुपर्ने शिक्षकहरूको जायज मागलाई सम्बोधन नगरि दमनमा उत्रनु उचित नभएको बताउनु भयो ।
त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठले शिक्षकहरुमाथि राज्यले गरेको दमनको विरोध गर्दै शिक्षकहरूको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले बालबालिकाहरूको पढ्ने अधिकार हनन भइरहेको अवस्थामा सरकारले तत्काल निकास निकाल्नुपर्ने बताउनुभयो । उहाँ पूर्वशिक्षामन्त्री समेत हुनुहुन्छ ।
त्यस्तै राप्रपा सांसद रोशन कार्कीले शिक्षक आन्दोलनमा घुसपैठ गराएर सरकारले दमन गरेको आरोप लगाउनुभयो । विभिन्न माग राखेर शिक्षकहरू लामो समयदेखि सडक प्रदर्शन गरिरहेका छन ।




