
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन माग गरेको छ । पुस २६ गतेको आयोगको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन माग गरेको हो ।
आयोगले ३६७ पदका लागि विज्ञापन आह्वान गरेको हो । यसअघि गत वर्ष ४३६ पदका लागि विज्ञापन आह्वान गरेको थियो । आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, शुक्लयजुर्वेद, कार्यालय सञ्चालन तथा लेखा, संस्कृत व्याकरण, संस्कृत भाषा, शिक्षा शिक्षण, सिद्धान्त ज्योतिष, स्वास्थ्य तथा शारीरिक शिक्षा र फलित ज्योतिष विषयका लागि शिक्षक माग गरेको छ ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट पुस २८ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिन सकिने आयोगले जनाएको छ ।
१८ वर्ष पुरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन सकिनेछ । तर, वहालवाला स्थायी शिक्षकको हकमा भने उमेर हद नलाग्ने आयोगले जनाएको छ ।





