
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पहिलो भए देशमा सुशासनको युग सुरु हुने बताएका छन् । उनले आफ्नो पार्टी पहिलो भए देशमा सुशासन कायम हुने र भ्रष्टाचार अन्त्य हुने बताएका हुन ।
आफुहरुले सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्ध काम गरिरहेका समयमा सुशासन विरोधी र भ्रष्टाचारका पक्षपातीले काम गर्न नदिएको उनको भनाइ छ । उनले अहिलेको सरकार सुशासनविरुद्ध र भ्रष्टाचारका पक्षमा काम गरिरहेको आरोप लगाए ।
आफ्नो पार्टी सरकारमा आए गिरीबन्धु टी इस्टेट, ओम्नी र वाइडबडी खरिदलगायत प्रकरणका फाइलहरू खोलिने उनले बताए । यसका लागि माओवादी बलियो हुनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा सुदूरपश्चिममा नदी नियन्त्रणदेखि विश्वविद्यालय स्थापनालगायत कामहरू गरेको बताए । यसका साथै सुक्खा बन्दरगाह निर्माण पनि आफ्नै पालामा अघि बढेको उनले दाबी गरे । भारत भ्रमणका बेला लिपुलेक, कालापानी र अन्य क्षेत्रका सीमा समस्याबारे समेत कुरा गरेको र समाधानका लागि भारत पनि सहमत भएको उनले बताए ।




