
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । बैठक आज दिउँसो ४ बजे बस्नेगरी छ । आजको बैठकमा पछिल्लो समसामयिक राजनीति र पार्टी सभापतिको कार्यवाहक जिम्मेवारी तोक्नेबारे छलफल हुनेसक्ने जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेमाथि आइतबार मुद्दा दर्ता भएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लगायत ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो ।
मुद्दा दायर भएसँगै रविको सांसद पद निलम्बनमा पर्ने भएको छ । नेपाली राजनीतिको व्याकरण नै सुधार गर्छौ भनेर राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई आम मानिसले राम्रै मत दिएका थिए । तर भ्रष्टाचारको विरोध र नो नट अगेन भन्ने नाराका साथ राष्ट्रिय राजनीतिमा प्रवेश गरेको रास्वपा सरकारमा दुईपटक पुगे पनि निर्वाचनमा गरेका वाचा पूरा गर्न असफल भएको भन्दै आलोचना भैरहेको समयमा सभापति रवि लामिछाने सहकारी प्रकणमा मुछिएपछि त्यसको मिश्रित प्रतिक्रिया आम मानिसले व्यक्त गरिरहेका छन । एकथरिले प्रतिसोध साधिएको बताइरहँदा राजनीति सफा गर्छौ भन्नेहरू नै राजनीतिक इमान्दारिता र नैतिकता प्रदर्शन गर्न नसकेको आरोप उक्त पार्टीलाई लगाइरहेका छन ।
प्रहरी हिरासतमा रहेका लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएको छ । अभियोजन दर्तासँगै उनको सांसद पद निलम्बनमा परेको छ । यो सँगै प्रतिनिधिसभाको सदस्यका रूपमा भूमिका पूरा गर्न अयोग्य व्यक्ति कुनै राजनीतिक दलको सभापति भइरहन मिल्छ कि मिल्दैन भन्ने नयाँ प्रश्न पनि सिर्जना भएको छ । २०७९ असार ७ गते स्थापना भएको रास्वपाको स्थापनाकालमा सैद्धान्तिक, राजनीतिक र वैचारिक दृष्टिकोण स्पष्ट थिएन । यद्यपि पछिल्लो समय उसले समाजवाद र लोकतन्त्रलाई आफ्नो प्रमुख सिद्धान्तका रूपमा प्रस्तुत गरेको छ । नेपाली राजनीतिको खस्किँदै गएको साख र कथित नयाँ शक्तिका खोक्रा नाराबाट वाक्क भएका जनताको मनोविज्ञानलाई सम्बोधन गर्ने उद्देश्यले यो पार्टीको गठन गरिएको थियो । टेलिभिजन पत्रकारितामार्फत नेताहरूलाई खबरदारी गर्दै र समस्यामा परेका नेपालीलाई सहयोग पु-याउँदै चर्चामा आएका रवि लामिछानेको नेतृत्वमा केही मध्यम तथा उच्च वर्गीय व्यक्ति मिलेर यो पार्टी अघि बढिरहेको छ ।
पार्टीका अधिकांश नेता राज्य सत्तासँग राम्रो पहुँच भएका, सेवानिवृत्त सरकारी अधिकारीहरू वा युरोप, अमेरिका, जापानजस्ता देशमा लामो समय बसेर आर्थिक सम्पन्नता हासिल गरेका पनि छन् । रास्वपामा अहिले रविको जुन तरिकाले वकालत गरिँदै छ, त्यसले यो कुरा देखाउँछ कि रास्वपा राजनीतिक संगठन नभई रविको निजी क्लब हो । उसको परिचय क्लब नै हो भन्ने देखाउन यो आन्दोलनले थप बल पुगेको देखिन्छ । लामिछानेको लोकप्रियताका टिकेको पार्टी उनै दोषि देखिए भविष्य कस्तो होला अहिले चासो बढेको छ । सभापति लामिछानेको पक्राउसंगै घटेको रास्वपाको कान्ति उनि दोषि ठहरीए थप घट्दै जाने निश्चित छ । तर रास्वपाले कुन बाटो लिन्छ भन्ने कुरा अदालतको निर्णयमा निर्भर गर्नेछ । तल्लो अदालतबाट मात्रै यो विषय नटुङ्गिने देखिएको कतिपय जानकारहरुको भनाइ छ ।
माथिल्लो अदालतसम्म यो विषय प्रवेश गर्दा रास्वपाले यसलाई कसरी लिन्छ त्यसले पनि पार्टीको भविष्य कस्तो हुने भन्ने निक्र्यौल गर्ने छ । रास्वपाले आफ्ना सभापतिको गिरफ्तारीको मुद्दालाई जनताबीच लगेर आफ्नो पक्षमा माहोल पनि सिर्जना गर्न सक्ने अवस्था समेत छ । तर लामिछानेपछि नेतृत्वका लागि रास्वपा नेताभित्र भित्रभित्रै हानथाप चलिरहेको छ । यसलार्य लिएर कतिपयलले रास्वपामा विस्तारै वैकल्पिक नेतृत्वको विषयमा अब विवाद शुरू हुन सक्ने अड्कल गरेका छन ।
विभिन्न पार्टीबाट अवसरको खोजिमा छिरेका नेताहरुमा एकमत हुन सक्ने संभावना निकै कम देखिन्छ । समग्रमा रविको पुरानो लोकप्रियतामा अडेको पार्टी उनि दोषि ठहरीए उनिसंगै सकिने अधिंकास राजनीतिका जानकारहरुको वुझाई छ ।





