काठमाडौं, ९ श्रावण । पूर्वमन्त्री रमेशनाथ पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्।

रवि लामिछाने नेतृत्वको रास्वपाले असार ७ गतेदेखि हस्ताक्षर अभियान जारी राखेको छ। अभियानअन्तर्गत शुक्रबार रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर पाण्डेले अभियानमा हस्ताक्षर गरेका हुन्।

राजाले शासनसत्ता कब्जा गरेका समय पाण्डे परराष्ट्रमन्त्री बनेक थिए । उनी पूर्वपत्रकार र कुटनीतिज्ञ पनि हुन् ।

पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछाने अहिले भैरहवा कारागारमा छन् । रास्वपाले यसलाई ‘प्रतिशोध’ भनेको छ। यसविरुद्ध रास्वपाले हस्ताक्षर सङ्कलन गरेको हो।

पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर लामिछानेले प्रहरी हिरासतबाटै असार ७ गते बीस पृष्ठको एक दस्ताबेज प्रस्तुत गरेका थिए। हस्ताक्षर सङ्कलनको बारेमा उनले त्यहीँ प्रस्ताव गरेका थिए। जसअनुरूप अहिले रास्वपाले हस्ताक्षर सङ्कलन गरिरहेको छ।

अभियानमा हिजो बिहीबारसम्म साढे २७ लाखबढी हस्ताक्षर संकलन भएको दाबी रास्वपाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0