
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।
महामन्त्री थापाले घुस प्रकरण नै सार्वजनिक भएपछि प्रधानमन्त्रीले मन्त्रीलाई तत्काल बर्खास्त गरि छानविन गर्नुपर्ने सुझाव दिनुभयो । छानविनका क्रममा दोषी देखिए कारवाही हुनुपर्ने उहाँले बताउनुभयो । महामन्त्री थापाले घुस प्रकरणको अडियो सार्वजनिक भएपछि आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले गर्न नसकेको बताउनु भयो । उहाँले सत्ताको शक्ति प्राप्त गरेपछि पनि कानून भन्दा माथि कोही नहुने बताउनुभयो ।
महामन्त्री थापाले कांग्रेसको अनुशासन समितिले गरेको कारवाहीको निर्णयले पार्टीको एकता खल्बलिने धारणा राख्नुभयो । पार्टीभित्र कोतपर्व जस्तै अनुशासन पर्व चलेको भन्दै उहाँले यो पार्टीको परम्परा र विधान, कानुनको हिसाबले उचित नरहेको बताउनुभयो ।





