काठमाडौँ । आज असार १५ अर्थात धान दिवस । दिवसका अवसरमा विभिन्न स्थानमा रोपाइँ गरेर दिवस मनाइएको छ । मानो रोपेर मुरी फलाउने महिनाका रुपमा परिचित असार १५ लाई उत्सवको रुपमा परम्परादेखि नै मनाउने चलन छ । 

नेपालमा बर्खे धान र चैते धान गरी दुई थरीको धानखेती हुने गरेको भए पनि कूल धान उत्पादन हुने क्षेत्रफलमध्ये करिब सात प्रतिशत जमिनमा मात्र चैते धानको खेती हुने गरेको छ । धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा पनि रोपाइँ गरिएको छ  । 

आइतबार राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल  सहभागी हुनुहुन्थ्यो  ।

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको  आधार मात्र  नभएर व्यवसायिक  बनाउनुपर्ने बताउनुभयो  ।

कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन आफू प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको राष्ट्रपतिको भनाइ रहेको थियो ।

त्यस्तै राष्ट्रपति पौडेलले कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0