
काठमाडौँ । लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठानका अध्यक्ष केशव शर्मा र महासचिव सुदर्शन आचार्य सम्मानित भएका छन । अन एयर मिडियाले शर्मा र आचार्य सहितका सञ्चारकर्मीहरूलाई वार्षिकोत्सवका अवसरमा सम्मान गरेको हो । लामो समयदेखि बिभिन्न रेडियो, पत्रिका, अनलाइन हुँदै टेलिभिजनमार्फत नेपालको सञ्चार क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै सम्मान गरिएको अन एयर मिडियाले जनाएको छ ।
आम पाठक, स्रोता तथा दर्शकमाझ स्वतन्त्र, निष्पक्ष र खोजमूलक समाचार सम्प्रेशण गर्नुका साथै समाचार सम्पादन, वाचन र कार्यक्रम प्रस्तुतिमा देखाएको अब्बलता र निष्पक्षतालाई कदर गर्दै यो लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठानका अध्यक्ष, महासचिव लगायतलाई सम्मान गरिएको जनाइएको छ । पत्रकार शर्मा सगरमाथा टेलिभिजन तथा आचार्य ग्लोबल टेलिभिजनका कार्यरत छन । शर्मा र आचार्य सहित विभिन्न विधाका ३० जनालाई अन एयर मिडियाले सम्मान गरेको थियो ।
अन एयर मिडियाद्वारा सञ्चालित भाषण कला तालिमको २० औं वार्षिकोत्सव तथा राष्ट्रिय सम्मान २०८२ कार्यक्रममा सञ्चारकर्मी तथा अन्य विधाका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशेष समारोहमा शर्मा र आचार्यसहित विभिन्न विधाका ३० जना विशिष्ट व्यक्तित्व सम्मानित भएका हुन । साथै २ जना विशिष्ट अतिथिहरूलाई अभिनन्दन गरिएको थियो ।
समारोहका प्रमुख अतिथि पूर्वमन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश श्री खिलराज रेग्मी रहेका थिए । यस्तै नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती रूपा थापा लगाएको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुखका जनसम्पर्क सल्लाहकार डा। रामबहादुर राउत, वरिष्ठ समाजसेवी बाबुकृष्ण खत्री, समाजसेवी तथा उद्योगी प्रेम दाहाल, समाजसेवी नगेंद्र न्यौपाने, समुन्नत महिला मञ्चकी अध्यक्ष समा खत्री, उपन्यासकार राधा भण्डारी, गायिका मधु रसाईली, घरेलु महासंघकी उपाध्यक्ष सरिता भट्टराई श्रेष्ठलगायत देशभरिका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी थिए ।
उक्त सम्मान अन एयर मिडियाका अध्यक्ष भागिरथ पोखरेल र व्यवस्थापक आशा दाहालको संयोजनमा गरिएको थियो । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी र नेपाल प्रहरीका महानिरीक्षक दीपक थापालाई अभिनन्दन गरिएको थियो ।





