
काठमाडौँ । सरकारले भिजिट भिसाको समस्या दिर्घकालीन रुपमा नै समाधान गर्ने गरि छानविन समिति गठन गरिएको जनाएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले गठन गरेको छानविन समितिका बिषयमा जानकारी गराउदै गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान गर्ने गरि समिति गठन गरिएको जानकारी दिनुभएको हो । उहाँले मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको
छानबिन समितिलाई ३० दिनभित्र आफ्नो प्रतिवेदन बुझाउने कार्यदेश दिइएको बताउनुभयो ।समितिले दिएको प्रतिवेदनलाई सरकारले अक्षरस कार्यान्वयन गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । गृहमन्त्री लेखकले समितिले अध्यागमन र भिजिट भिसासँग सम्बन्धित विषयमा अख्तियारले गरिरहेको अनुसन्धानमा असर नपार्नेगरि काम गर्ने स्पष्ट पार्नुभयो । भिजिट भिसाका बिषयमा देखिएको समस्यालाई उचित ढंगले पहिचान गरेर समाधानका लागि अल्पकालीन, दिर्घकालीन, संरचनागत सबै क्षेत्रमा आवश्यक सुधारका लागि प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो ।
उहाँले अध्यागमनलाई चूस्तदुरुस्त गर्न आवश्यक कानूनी सुधार, कर्मचारी व्यवस्था सुधार लगाएतमा पनि समितिले अध्ययन गरि सुझाव दिने धारणा राख्नुभयो । सदनमा उठेका बिषयहरुलाई ठीक ढंगले पहिचान गरि निष्कर्षमा पुराउन उच्चस्तरीय समिति गठन भएको उहाँले बताउनु भयो ।





