काठमाडौँ । स्वतन्त्र सांसद अमेरश कुमार सिंहले बजेटमा बिभेद गरिएका  जिल्लालाई लिजमा दिउँ भनेपछि प्रतिनिधिसभामा विवाद भएको छ । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद सिंहले बजेटमा प्राथमिकतामा परेको चार पाँच वटा भाग्यमानी जिल्ला बाहेकलाई अर्को देशमा लिजमा दिउँ भन्ने धारणा राख्नुभएको थियो । उहाँले बजेट नै नजाने जिल्लालाई किन नेपालमा राख्ने भन्दै प्रश्न गर्नुभएको थियो । सांसद सिंहको उक्त धारणाप्रति नेकपा एमालेका सांसदहरुले आपत्ति जनाएका थिए । एमाले मुख्य सचेतक महेश बतौलाले सिंहले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै कारवाही गर्न माग गर्नुभयो । देशलाई अर्को देशमा गाभिदिऔं भनेर संसद्को रोष्ट्रमबाट आएको अभिव्यक्ति आपत्तिजनक रहेको उहाँले बताउनुभयो ।

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद सिंहले संसद्‍मा असंसदीय भाषा प्रयोग गरेको र राष्ट्रमाथि प्रश्न खडा हुने भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउने निर्देशन दिनुभयो । सभामुखको निर्देशनपछि सांसद सिंहले सभामुखको भूमिका प्रति प्रश्न उठाउनुभयो । सभामुखले दलीय हिसाबले निर्देशन दिने गरेको भन्दै निर्देशनलाई मान्न तयार नरहेको सांसद सिंहले बताउनुभयो । 

सदनमा निरन्तर विवाद भएपछि सभामुख घिमिरेले बजेटमाथिको विषयमा नबोल्ने भए रोष्ट्रम छोडेर जानका लागि निर्देशन दिनुभएको थियो । त्यसपछि पनि सांसद सिंहले आपत्ति जनाउनुभएको थियो । सांसद सिंहले बोल्दै गर्दा माइक काटिएपछि उहाँ रोष्टमबाट फर्कनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0