
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भिजिट भिसा प्रकरणमा संसद्बाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ ।
रास्वपा संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा प्रश्न उठेपछि अनुसन्धानका लागि मार्गप्रशस्त गर्नुपर्ने भन्दै मंगलबार बस्ने संसद् बैठकमा सशक्त प्रतिपक्षी रुपमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
उहाँले सदनमा सांसदहरुले प्रश्न सोध्न नपाइ गृहमन्त्रीले जवाफ दिने अवस्था बनाइए स्वीकार्य नहुने बताउनु भयो । पहिला तथ्यका साथ आफूहरूले गृहमन्त्रीलाई प्रश्न गर्ने र त्यसपछि मात्रै जवाफ सुन्ने झाले बताउनुभयो । उहाँले कांग्रेस नेता समेत रहेका गृहमन्त्रीलाई भिजिट भिसा प्रकरणमा क्लिन चिट दिने अधिकार कांग्रेस पदाधिकारीलाई नरहेको बताउनु भयो ।
उहाँले भिजिट भिसा प्रकरणमा अनुसन्धानका लागि कांग्रेसले सहजीकरण गर्नुपर्ने बताउनुभयो । यसअघि आफ्ना नेतामाथि प्रश्न उठ्दा कांग्रेसले २२ पटक सदन अवरोध गरेको विषय पनि सदन मार्फत स्मरण गराइने उहाँले बताउनुभयो । उहाँले अरु दल भन्दा सुदृढ संसदीय अभ्यास गरेर देखाउने बताउनु भयो ।





