काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा मुलुकको पहिलो आवश्यकता भएकाले शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै पनि सम्झौता मान्य नहुने बताउनु भएको छ । 

विराटनगरमा कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्‌घाटन गर्दै गृहमन्त्री लेखकले सामान्य जनजीवन, विकास निर्माण र आर्थिक गतिविधि शान्ति सुरक्षाबिना सम्भव नहुने उल्लेख गर्दै सबै सुरक्षा निकायहरूलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न निर्देशन दिनुभयो ।

उहाँले लोकतन्त्र भनेको अनुशासनमा आधारित व्यवस्था भएको बताउँदै अराजकता कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान परिमार्जन र परिष्करण गर्न सकिने भए पनि संविधान र प्रणाली विरोधी गतिविधि सह्य नहुने उहाँले बताउनुभयो ।

त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पछिल्लो समय विभिन्न नाममा देखिएको सुरक्षा चुनौतीको सामना सामूहिक रूपमा गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना, साइबर अपराध र सीमा तस्करी नियन्त्रणमा सुरक्षा निकायहरू अझ सक्रिय बन्नुपर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0