काठमाडौँ । भारत पाकिस्तानबीचमा तनाव बढिरँहदा नेपालमा पनि सुरक्षा सतर्कता अपनाइएको छ । नेपाल भारत सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

भारत पाकिस्तानबीचको पछिल्लो सैन्य भिडन्तले दक्षिण एशियामा अस्थिरता निम्त्याउँदै गर्दा नेपाल समेत सुरक्षा सतर्कता र कूटनीतिक दबाबको दोहोरो चपेटामा परेको छ । पहलगाम आक्रमणपछि भारतले पाकिस्तानमाथि आक्रमण गर्दा दर्जनौँको मृत्यु भएको दाबी गरिएको छ, जसले युद्धको सम्भावना बढाएको  छ। यसै सन्दर्भमा नेपाल सरकारले आकस्मिक सुरक्षा परिषद् बैठक डाक्दै भारतसँगको खुला सीमामा निगरानी कडा बनाएको छ । यता, भारतले आतङ्कवादी घुसपैठ रोक्न नेपालसँग प्रत्यक्ष सहयोग माग्दै कूटनीतिक सन्देश पठाएको छ । यस्तो परिवेशमा नेपालले आन्तरिक सुरक्षा सुदृढीकरण मात्र होइन, क्षेत्रीय शक्ति सन्तुलनमा सन्तुलित कूटनीति अपनाउनुपर्ने  घडी आएको छ । 

भारतको अप्रेसन सिन्दुर अन्तर्गत ७ मेमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरिएको मिसाइल आक्रमणपछि स्थिति झनै चर्किएको छ । भारतले २२ अप्रिलमा भारतको कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा २६ पर्यटकको मृत्यु भएपछि प्रतिशोधस्वरूप पाकिस्तानको बहावलपुर, मुरिदके, मुजफ्फराबाद लगायतका नौ स्थान लक्षित आक्रमण गरेको दाबी गरेको छ । भारतका अनुसार, यी आक्रमणहरू जैश ए मोहम्मदलश्कर ए तैयबा जस्ता आतङ्कवादी समूहहरूको आधार शिविरमा केन्द्रित थिए । तर पाकिस्तानले यी आक्रमणहरूमा ३१ जना नागरिकको मृत्यु भएको, जसमा महिला र बालबालिका पनि परेका छ, र ४६ जना घाइते भएको जनाएको छ । साथै, पाकिस्तानले भारतका पाँच लडाकु विमान र एक ड्रोन खसालेको दाबी गरेको छ, यद्यपि भारतले यसलाई अस्वीकार गरेको छ ।

यस सैन्य तनावले नेपालमा पनि सुरक्षा सतर्कता बढाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरवारमा राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको छ, जसमा गृहमन्त्री, अर्थमन्त्री, सुरक्षा प्रमुखहरू र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी थिए। बैठकपछि गृह मन्त्रालयले नेपाल भारत सीमावर्ती क्षेत्रमा सशस्त्र गस्ती कडा पारिएको, आवतजावतमा निगरानी बढाइएको, शङ्कास्पद गतिविधिमा सूक्ष्म सूचना सङ्कलन सुरु गरिएको र सम्पूर्ण सुरक्षा निकायहरूलाई हाई अलर्टमा राखिएको जनाएको छ ।

पछिल्लो घटनाक्रमपछि भारतले नेपाललाई पनि सम्भावित आतंकी घुसपैठ रोक्न सजग रहन आग्रह गरेको छ । भारतीय सुरक्षा निकायले नेपालभित्र आतंकवादी प्रवेशको आशंका गर्दै नेपाली सुरक्षा निकायहरूसँग समन्वय र सूचनाको आदानप्रदान बढाएको छ । सशस्त्र प्रहरी बल नेपालले भारतको सीमा सुरक्षाबलसँग संयुक्त गस्ती र निगरानी तीव्र पारेको छ। सीमा क्षेत्रमा एक बीओपीदेखि अर्काे बीओपीसम्म चौबिसै घण्टा निरन्तर गस्ती भइरहेको छ। आवतजावत गर्ने व्यक्तिहरूको परिचयपत्र अनिवार्य रूपमा जाँच गरी अभिलेख राखिने भएको छ । नेपाल सरकार आन्तरिक रूपमा पनि उच्च सतर्कतामा गएको छ। शहरी क्षेत्रका संवेदनशील स्थानमा सुरक्षा निगरानी बढाइएको छ भने राष्ट्रिय अनुसन्धान विभागलाई सूक्ष्म अनुसन्धान तथा सूचना संकलनका लागि सक्रिय तुल्याइएको छ । स्थानीय जनप्रतिनिधि, प्रहरी, अनुसन्धान र आम नागरिकबीच समन्वय गरी सम्भावित संकटलाई व्यवस्थापन गर्न व्यापक तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

भारत र पाकिस्तानबीच युद्ध चर्किँदै जाँदा नेपालमा यसको प्रत्यक्ष असर पर्ने संकेत देखिएको छ। भारतसँगको खुला सीमाको कारण नेपालको व्यापार, आपूर्ति र जनजीवनमा प्रभाव पर्ने सम्भावना उच्च देखिएको छ। नेपालको ६० प्रतिशतभन्दा बढी आयात भारतको मार्ग हुँदै हुने भएकाले भारतको सिमा बन्द वा सशस्त्र निगरानी बढेमा आपूर्ति श्रृंखलामा अवरोध आउन सक्छ। यसले खाद्यान्न, इन्धन र अन्य उपभोग्य वस्तुको अभाव र महँगी निम्त्याउने सम्भावना रहेको विश्लेषणहरूको भनाइ छ।

युद्ध चर्किएमा भारतले नेपाललाई आफ्नो पक्षमा उभ्याउन कूटनीतिक दबाब दिन सक्ने संकेत पनि देखा परेको छ । हालै मात्र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गर्दै शीर्ष नेताहरूसँग भेट गरेका थिए। राजनीतिक वृत्तमा यो भ्रमणलाई भारतको कूटनीतिक सन्देशका रूपमा हेरिएको छ, जसले नेपालमाथि दबाब सिर्जना गर्ने संकेत दिएको छ । नेपाल यतिबेला कूटनीतिक सन्तुलनको पेचिलो घडीमा छ । एकातर्फ भारतको असन्तुष्टि झेल्न सक्ने अवस्था छैन भने अर्कातर्फ कुनै पक्षको खुला समर्थनले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्न सक्छ। यस्तो परिस्थितिमा नेपालले सावधानी, सन्तुलन र चातुर्यपूर्वक अगाडि बढ्नुपर्ने देखिएको जानकारहरुको तर्क छ । 

क्षेत्रीय अस्थिरता र युद्धको सम्भाव्यताबीच नेपालले आफ्नो सार्वभौमिकता, सुरक्षा र आन्तरिक स्थायित्व कायम राख्न गम्भीर हुनुपर्ने समय आएको छ। भारत–पाकिस्तान तनाव केवल दुई राष्ट्रको सिमा विवाद मात्र नभई सम्पूर्ण दक्षिण एशिया क्षेत्रको स्थायित्वमा प्रश्न बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0