काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले चैत १५ गते भएको आन्दोलन ट्रेलर मात्रै भएको बताएका छन । उनले जनताले प्रदूषित भइसकेको गणतन्त्र नखोजेको बताएका छन । केही सांसदहरूले गएको राजसंस्था अब आउँदैन भन्ने कुरा राखेपछि, जनताहरूले यस्तो खालको गणतन्त्र नखोजेको धारणा राखेका थिए । १५ गते आन्दोलनको ट्रेलर मात्रै हो भन्ने कुरा गणतन्त्रले नै देखाएको उनको भनाइ थियो । उनले देशको अहिलेको भद्रगोल अवस्था गणतन्त्रले नै बनाएको आरोप समेत लगाएका थिए । चैत १५ को घटनापछि राजावादी आन्दोलनमा ब्रेक लागेको विश्लेषण भईरहेको समयमा उनको यस्तो अभिव्यक्ति आएको हो । 

राजावादी आन्दोलन हिंसात्मक बनेपछि राजा पक्षधरहरू नै रक्षात्मक बनेका समयमा सांसद पाण्डेको यस्तो अभिव्यक्ति आएको हो । अहिले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जन आन्दोलन समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा छन् भने राप्रपाका नेता रबिन्द्र मिश्र लगायतका केहि नेताहरू प्रहरी हिरासतमा छन । १५ गतेको प्रदर्शन हिंसात्मक भएपछि पछिल्लो समयमा राजसंस्थाको पक्षको माहोल बिग्रिएको छ । यस्तो अवस्थामा आएको पाण्डेको अभिव्यक्तिले पुनः राजनीतिक तरंग पैदा गरिदिएको छ । तर पाण्डेले सदनमा उत्तेजित अभिव्यक्ति दिएपनि अहिले नेपालमा राजसंस्था पुनर्स्थापनामा राजावादीहरूबिच नै टकराव देखिन्छ । राजसंस्था पुनर्स्थापनाका लागि सडकमै उत्रिएका राजावादी दलहरूमा मतैक्यता भने देखिदैन । राजसंस्था पुनःस्थापनाका लागि राजावादीहरू नै एक ढिक्का भने छैनन् । राजसंस्थाको वकालत गर्दै आएका दलहरूले सदनदेखि सडकसम्म प्रदर्शन गर्ने अभिव्यक्ति दिने गर्दै आएका छन । तर अहिले नेपाली राजनीतिमा राजसंस्थाको वकालत गर्नेहरूको प्रभाव सीमित देखिन्छ । 

राजसंस्थाप्रति सहानुभूति केही वर्गमा अझै देखिने गरेको भएपनि त्यो वृद्ध पुस्ता तथा पछिल्लो अस्थिरताबाट निरास युवाहरू मात्र छन भन्दा अन्यथा हुँदैन । हिन्दु राष्ट्र चाहने केही समूहहरूले समेत राजसंस्थाको वकालत गर्ने गरेको भएपनि त्यो सङ्ख्या न्यून छ । अझ यस्तो समर्थन सङ्गठित रूपमा ठूलो जनआन्दोलनमा रूपान्तरण हुनसक्ने देखिदैन । राप्रपा, राप्रपा नेपाल लगायतका दलहरू राजसंस्था पुनस्थापनाको पक्षमा खुला रुपमा उभिएका दलहरू छन । तर राप्रपाले संसद्मा सीमित सिट जिते पनि संविधानमा उल्लेख नभएको राजसंस्थाका पक्षमा चर्को आवाज उठाउँदैमा त्यो सम्भव देखिदैन । 

पूर्वराजा ज्ञानेन्द्रले समय समयमा सार्वजनिक अभिव्यक्ति दिँदै सक्रियता जनाउने गरेको भएपनि उनको अभिव्यक्तिलाई गणतन्त्रवादी जनमतले खासै वास्ता गरेको देखिदैन । संविधान संशोधन र राजसंस्थाको पुनस्र्थापनाजस्तो ठूलो एजेन्डा उठाउन हाल उनीहरूसँग आवश्यक संसद सङ्ख्या समेत छैन । युट्युब, फेसबुक, टिकटक लगायत माध्यममा राजसंस्थालाई समर्थन गर्ने सामग्री देखिएपनि राजनीतिक रुपमा राजसंस्थाको वकालत गर्ने जनमत कमजोर छ । त्यसैले पाण्डे जस्ता केही सांसदहरुले सदनमा चर्को आवाज उठाउनु भनेको राजावादीहरूको आन्दोलन जनस्तरमा विचारधारात्मक रूपमा जीवित राख्ने प्रयास भन्दा अरु हुने ठाउँ देखिदैन 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0