
निर्मल आचार्य
पहलगाम मा भएको आतङ्कवादी हमला पछि दक्षिण एसिया पूरै तरङ्गित छ। पुनः प्रश्न उठेको छ, के भारत र पाकिस्तानबीच युद्ध होला? प्रायः नेपालीको दिमागमा उत्तर आउँछ, हुनु हुँदैन, र हुँदैन पनि। तर पनि हामीकहाँ कुरौटेहरूको कमी छैन। नेपालीहरू अलि धेरै कुरौटे छौँ।
हामी मध्ये धेरैजसोलाई लागेको थियो, रुस र युक्रेनको युद्ध भयो भने युक्रेन आधा घण्टामा सखाप हुन्छ। अहिले उहीँ कुरौटे भावना हामीमा आएको छ–भारत र पाकिस्तानको लडाइँ भयो भने पाकिस्तान १० मिनेटमै सखाप हुन्छ। अनि हामी त्यस्ता कुरौटे हौ, जो नालापानीको लडाइँको ब्याज खाएर बाँचिरहेका छौं ! सबैलाई ज्ञान छ –‘सार्वभौमिकता’ भनेको भने अलग विषय हो। अनि, धेरै कुरा किन?
भारत र पाकिस्तानको विभाजन सन् १९४७ मा भएको यस्तो ऐतिहासिक घटना हो, जसले दक्षिण एशियाको राजनीतिक र सामाजिक संरचना नै बदलिदियो। बेलायती शासन अन्त्य भएपछि भारत स्वतन्त्र भयो, तर धार्मिक विभाजनका कारण हिन्दु बहुल भारत र मुस्लिम बहुल पाकिस्तान भनेर दुई देश बने। मुस्लिम लिगका नेता मोहम्मद अली जिन्नाहले मुस्लिमहरूको स्वतन्त्र राष्ट्रको माग गरेपछि यो विभाजन सम्भव भयो।
विभाजन अत्यन्तै हिंसात्मक थियो। करोडौँ मानिसहरूले आफ्नो जन्मभूमि छोड्नुपर्यो, हजारौं मारिए र असङ्ख्य महिलापुरुष पीडित भए। पञ्जाब र बङ्गाल प्रदेशहरू विभाजनको मुख्य केन्द्र बने। यस घटनाले भारतपाकिस्तानबीचको सम्बन्धमा दीर्घकालीन तनावको बीउ रोप्यो, जुन अहिले पनि देखिन्छ।
भारतपाकिस्तानको विभाजनले इतिहासमा गहिरो चोट पुर्याएको छ र आजसम्म त्यसको प्रभाव महसुस गर्न सकिन्छ।
सन् १९४७ मा ब्रिटिश शासनको अन्त्यसँगै भारत र पाकिस्तान छुट्टिए। विभाजनसँगै कश्मीरको स्वामित्वलाई लिएर दुश्मनी सुरु भयो। सन् १९४७–४८ मा पहिलो युद्ध भयो, जसमा भारतले जम्मु–कश्मीरलाई आफ्नो भाग बनायो। सन् १९६५ को दोस्रो युद्ध पनि कश्मीरकै विषयमा थियो। त्यसपछि सन् १९७१ मा पाकिस्तानको पूर्वी भाग बङ्गलादेश बन्नुमा भारतले ठूलो भूमिका खेलेपछि सम्बन्ध झनै बिग्रियो। सन् १९९९ मा कारगिल युद्ध भयो, जुन दुबै देशको परमाणु शक्तिको तनावपूर्ण प्रदर्शन थियो ।
यी युद्धहरूले हजारौं मानिसको ज्यान लिए, अर्थतन्त्रमा असर पार्यो र दुई देशबीचको सम्बन्धमा गहिरो दरार ल्यायो। यद्यपि कूटनीतिक पहल भइरहे पनि विश्वासको सङ्कट अझै कायम छ।
उता, भारत र चीनबीचको दुश्मनी पनि कायमै छ। यो दुश्मनी सन् १९६२ को युद्धबाट सुरु भएको हो। तिब्बतमा चीनको कब्जा र भारतले दलाई लामालाई शरण दिएको कारण सम्बन्ध बिग्रियो। सीमाना प्रष्ट नहुँदा झडप हुँदै गए। सन् १९६२ को युद्धमा चीनले भारतको अरुणाचल प्रदेश र लद्दाख क्षेत्रमा आक्रमण गर्यो र ठूलो भू–भाग कब्जा गर्यो।
त्यसपछि पनि सन् १९६७, १९८७ मा साना झडपहरू भए। पछिल्लो पटक सन् २०२० मा गलवान उपत्यकामा भएको झडपमा दुबै पक्षका सैनिक मारिए।
हाल दुई देशबीच सीमामा तनाव कायमै छ, यद्यपि कूटनीतिक वार्ता जारी छ। दुबै देश विश्व शक्ति बन्न चाहन्छन्, तर सीमाको विवाद समाधान नहुँदासम्म दुश्मनी रहिरहने देखिन्छ।
यसको ठीक विपरित, पाकिस्तान र चीनबीचको सम्बन्ध ऐतिहासिक रूपमा मजबूत र रणनीतिक मानिन्छ। सन् १९५० को दशकदेखि नै दुवै देशले आपसी सहयोग र मित्रताको सम्बन्ध बनाएका छन्। भारतसँग दुश्मनी भएका कारण पाकिस्तानले चीनसँग सैन्य र आर्थिक सम्बन्ध बलियो बनाएको हो।
चीन–पाकिस्तान आर्थिक करिडोर (CPEC) यो सम्बन्ध मुख्य उदाहरण हो, जसअन्तर्गत चीनले पाकिस्तानमा अर्बौँ डलर लगानी गरिरहेको छ। यसले पाकिस्तानको पूर्वाधार विकासमा मद्दत पुर्याएको छ। साथै, चीनले पाकिस्तानलाई सैन्य उपकरण र प्रविधिमा पनि सहयोग गर्दै आएको छ।
चीनले पाकिस्तानलाई “आइरन ब्रदर” भन्ने गर्छ, र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि एक–अर्काको समर्थन गर्छन्। यी सम्बन्धले दक्षिण एसियाको भू–राजनीतिमा ठूलो प्रभाव पारिरहेको छ।
हुन त देखिने गरी CPEC (China–Pakistan Economic Corridor) मार्फत चीनले पाकिस्तानमा मुख्यतः पूर्वाधार विकास, ऊर्जा परियोजना, औद्योगिक पार्क, रोजगारी सिर्जना लगायत दर्जनौं गैर–सैन्य क्षेत्रमा काम गरिरहेको देखिन्छ।
तर यो विषय सैन्य पक्षसँग पनि जोडिएर आउँछ। CPEC मुख्यतः आर्थिक परियोजना भनिए तापनि, यसले रणनीतिक (geopolitical) महत्व पनि बोकेको छ। यही परियोजना मार्फत निर्माण भएको ग्वादर पोर्टले चीनलाई अरब सागरमा पहुँच दिन्छ, जुन सैन्य दृष्टिले उपयोगी हुन सक्छ। चीनले प्रत्यक्ष सैन्य निर्माण नगरे तापनि, यो पहुँच भविष्यमा सैन्य प्रयोजनका लागि उपयोग गर्न सकिने सहजै अनुमान गर्न सकिन्छ।
यो पृष्ठभूमिमा सहजै युद्ध भइहाल्ने, र भयो भने बारम्बार हुने अवस्था देखिँदैन।
भारत र पाकिस्तानबीच हालसम्म भएका युद्धहरूमा प्रायः जनता अन्ध–राष्ट्रवादमा (blind loyalty) रमाउने, अनि शासकहरू फासिवादको सिद्धान्तमा अगाडि बढ्ने गरेका छन्। आजको समयमा जनतालाई देशभक्तिको भावना देखाएर भावनात्मक बनाइन्छ, अनि त्यसैको मौकामा शासकहरूले आफ्नो सत्ता जोगाउने, आलोचकहरू दबाउने, र तानाशाही प्रवृत्ति देखाउने काम गर्छन्। बिहारमा चुनाव पनि छ। कुरौटे नेपालीहरूले भनेजस्तो बारपारको युद्ध हुँदैन, स्वार्थ साटासाट हुन्छ।
जे भए पनि युद्ध राम्रो पक्ष हुँदै होइन। नेपालले सार्क राष्ट्रको सदस्य भएको हैसियतले अहिलेको तनावलाई कम गर्न सक्ने जति पहल गर्नुपर्छ।
कथमकदाचित ठुलो युद्ध भयो भने नेपाललाई पनि निक्कै प्रभावित गर्नेछ। त्यसकारण बुद्धभूमिबाट हामीले जतिसक्दो शान्तिका लागि कामना, र सक्दो पहलकदमी लिनु आवश्यक हुन्छ।
(आचार्य नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ )





