
काठमाडौँ । मे दिवस अर्थात् यस वर्षको १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएका छन् । दिवसका बिभिन्न पार्टी निकट मजदुर सङ्गठनले काठमाडौंमा –याली निकालेका छन् ।
सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ ।
नेपालमा पनि विराटनगरमा २००३ सालमा भएको श्रमिक आन्दोलनको सफलता र २००७ सालको परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा श्रमिक दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ ।





