
काठमाडौँ । आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने सरकारको प्रयास असफल भएको छ । वार्ताका लागि शिक्षा मन्त्रालयले नै शिक्षकहरूको टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघ उपस्थित नभएपछि शिक्षकसँग वार्ता गर्ने सरकारको प्रयास असफल भएको हो ।
मन्त्रालयले छलफलका लागि बिभिन्न शिक्षक संघसंगठनहरुका प्रतिनिधिलाई शुक्रबार सिंहदरबार बोलाइएको थियो । छलफलका लागि केही शिक्षकहरू समेत मन्त्रालय पुगिसकेका थिए । तर महासंघले शिक्षामन्त्री संग औपचारिक भेटका लागि जाने क्रममा रहेपनि विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको उल्लेख गरेको छ ।
शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुबाटै प्राप्त नामका आधारमा प्रतिनिधिहरूलाई सिंहदरबार बोलाइएको भन्दै त्यसमा आपत्ति भए वार्ता टोली गठन गर्न महासंघलाई आग्रह गर्नुभयो । शिक्षक महासंघले बनाउने आधिकारिक वार्ता टोलीसँग वार्ता गरि समस्या समाधान गर्न तयार रहेको मन्त्री पन्तले बताउनुभयो ।
त्यस्तै मन्त्रालय पुग्नुभएका राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमुद कुमार सिंहले सिंहदरवार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि महासंघका अध्यक्ष लगायतको टोली फकिएको बताउनु भयो ।
शिक्षकहरूले शुक्रबार पनि प्रदर्शन गरेका छन ।





