
काठमाडौँ । नेकपा माओवादी केन्द्रले शिक्षक र निजामती कर्मचारीको समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको छ । आज बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयक जस्ता महत्वपूर्ण विधेयकलाई छिटो पारित गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना दलका सांसदहरूलाई निर्देशन दिनुभएको छ ।
दाहालले शिक्षक र कर्मचारीका समस्या समाधानका लागि पहल गर्ने भन्दै निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयक जस्ता महत्वपूर्ण विधेयकलाई छिटो पारित गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको हो ।
लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि सरकारले चासो नदेखाएको भन्दै अन्य दलहरूसँग छलफल गरेर उनीहरूको समस्या समाधानका लागि पहल गर्ने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।
त्यस्तै तराई मधेस जागरण अभियान मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेकाले अभियानका क्रममा जनताले दिएका सुझावलाई सदनमा लैजान समेत दाहालले निर्देशन दिनुभएको छ ।





