काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियताले नेकपा एमालेभित्र हलचल ल्याएको छ । एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीको पछिल्ला गतिविधिले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएको छ । पार्टीभित्र अध्यक्ष ओलीको एकछत्र दबदबा माथि प्रश्न उठ्दै गर्दा विद्या भण्डारीको पुनरागमनले संस्थापन इतर समुह उत्साहित देखिएको छ । भण्डारीले गत वर्ष एमालेको सदस्यता नवीकरण गरिसकेकी छन् । पछिल्लो समय देशका विभिन्न जिल्लाहरूको भ्रमणमा रहेकी भण्डारीले स्थानीय नेता कार्यकर्तासँगको भेटघाटलाई तीब्र पारेकी छन् । उनले आगामी महाधिवेशन र संसदीय निर्वाचनलाई लक्षित गर्दै एमालेमा औपचारिक रुपमा फर्कने तयारी गरिरहेकी छन् । केपी शर्मा ओली र उनी निकट नेताहरूको छायाँमा परेका नेता कार्यकर्ताहरूले पनि विद्या भण्डारीको सम्भावित उम्मेदवारीलाई स्वागत गरिरहेका छन् ।

केपी शर्मा ओलीले विद्या भण्डारीको सक्रियतालाई रोक्नका लागि विभिन्न रणनीति अपनाए पनि प्रभावकारी हुन सकेको छैन । पार्टीभित्र ओलीको नजिकका नेताहरूलाई मात्र प्राथमिकता दिइएको भन्दै असन्तुष्ट रहेको अर्को समुहले भण्डारीलाई विकल्पको रूपमा अगाडि सारेको हो । मदन भण्डारीको पत्नी भएकै कारण पनि पार्टीभित्र भण्डारीप्रति सहानुभूति छ । विद्या भण्डारी सकभर केपी शर्मा ओलीको समर्थनमा एमालेमा फर्कन खोजेकी छन् । भण्डारी निकटका नेताहरूले भने केपी शर्मा ओलीको सहमतिमै विद्या भण्डारी एमाले फर्कँदा राम्रो हुने बताइरहेका छन् । तर केपी ओलीले सहजै सत्ता हस्तान्तरण गर्ने मनसायमा भने देखिएका छैनन् । केपी ओलीले अझै २० वर्ष भन्दा बढी एमालेको नेतृत्व गर्ने इच्छा सार्वजनिक रुपमा देखाएका छन् ।

आफूनै सर्वेसर्वा भएको मान्ने केपी ओलीले सहजै सत्ता हस्तान्तरण गर्नेमा विद्या भण्डारी विश्वस्त छैनन् । त्यसैले ओलीको समर्थनमा अध्यक्ष बन्ने आशामा रहे पनि परिस्थिति नमिले प्रतिस्पर्धा गरेर नेतृत्व सम्हाल्ने मनसायमा विद्या भण्डारी पुगेकी छन् । यसैको सन्देश दिन पनि विद्या भण्डारीले तल्लो तहमा आफ्ना उम्मेदवारहरूलाई केपी शर्मा ओलीका उम्मेदवारसँग प्रतिस्पर्धामा उतारेकी छन् । एमालेको तल्लो तहदेखि सचिवालयसम्म भण्डारी समर्थकहरूको प्रभाव बढ्दो छ । विभिन्न प्रदेश, जिल्ला र जिल्लास्तरका अधिवेशनमा भण्डारीले समर्थन गरेका उम्मेदवारले ओली पक्षधर उम्मेदवारलाई पराजित गरेका छन् ।

पार्टीभित्र विद्या भण्डारीको बढ्दो प्रभाव देखेपछि अध्यक्ष ओलीसमेत रणनीति परिवर्तन गर्न बाध्य हुने संस्थापन इतर समुहको बुझाई छ । एमाले वृत्तमा ओली र भण्डारीबीच कुनै तहको सहमति हुनसक्ने चर्चा पनि चर्किएको छ । तर, त्यो सहमतिको स्वरूप के हुनेछ भन्ने अझै प्रष्ट छैन । पहिलो महिला राष्ट्रपति बनेकी विद्या भण्डारी अब नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने लक्ष्यमा अघि बढिरहेकी छन् । उनी पार्टीको अध्यक्ष बन्न सके प्रधानमन्त्रीको दाबेदार स्वतः बन्नेछिन् । यस्तो अवस्था आउँदा अध्यक्ष र प्रधानमन्त्री दुवै पद गुमाउने खतरा देखिएको ओलीका लागि राष्ट्रपति बन्ने बाटो मात्र खुला रहने संकेत देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
6
+1
0
+1
2