
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभएको छ ।
बिहीबार सिंहदरबारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नवनिर्वाचित कार्यसमितिसँगको छलफलका क्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयकलाई सङ्घीय संसद्को अबको अधिवेशनमा प्रस्तुत गर्ने गरि तयारी भइरहेको जानकारी दिनुभएको हो ।
उहाँले सकेसम्म अबको अधिवेशनबाटै वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने कानून पारित गरिने जिकिर गर्नुभयो । वैदेशिक रोजगार ऐनका लागि कार्यदलले छलफल सुरु गरेको अवस्थामा समयसापेक्ष सुधार गर्दै अघि बढ्ने उहाँले बताउनुभयो ।
मन्त्री भण्डारीले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउने जिम्मेवारी स्वयं व्यवसायीहरूको भएको उल्लेख गर्नुभयो ।
वैदेशिक रोजगार व्यवसायीले इमान्दारिताका साथ व्यवसाय गरे सरकारलाई पनि सहजीकरण गर्न सहज हुने उहाँको भनाइ छ ।





