
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे गृहमन्त्री रमेश लेखकले सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ । करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सदाय मङ्गलबार आफ्नै घरमा मृत फेला पर्नुभएको थियो ।
गृह मन्त्रालयको सचिवालयका अनुसार गृहमन्त्री लेखकले यस घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिनुभएको हो ।
मृतक आनन्ददेवीको दुई वर्षकी छोरी हुनुहुन्छ र उहाँ एक वर्षदेखि माइतीमा बस्दै आउनु भएको थियो । यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवी माइतमा कोही नभएको बेला झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो ।
मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





