
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार जनअपेक्षा अनुसार अघि बढ्न नसकेको बताउनु भएको छ । मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले ठूला दल मिलेर सरकार बनेपछि जनतामा रहेको अपेक्षा अनुसार सरकार अघि बढ्न नसकेको बताउनुभएको हो । उहाँले सरकार ट्याक्टरको गतिमा बढेको र जोस, उत्साह र समर्पण सरकारको नेतृत्वबाट हुन नसकेको बताउनु भयो ।
नागरिकको अवस्था बदल्न व्यवस्था बदल्ने कुरामा छलफल गर्न आवश्यक नरहेको भन्दै उहाँले नेतृत्वको शैलीको कारण जनताको अवस्था नबदलिएको धारणा राख्नुभयो । यसका लागि नेतृत्वको शैली वा नेतृत्व नै बदल्न जरुरी रहेको उहाँको भनाइ छ ।
त्यस्तै महामन्त्री थापाले अहिले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुम सम्म हुने गरेकाले मुलुकको अर्थतन्त्रमा समस्या देखिएको धारणा राख्नुभयो । राष्ट्र बैङ्कको गभर्नरबारे छलफल हुँदा बिचौलियाको मान्छे भनेर खुला रुपमा बहस र छलफल हुने अवस्था उचित नभएको उहाँले बताउनुभयो । थापाले देशमा देखिएका समस्या समाधान कांग्रेसले गर्छ भन्ने भरोसा जनतालाई महसुस गराउन सक्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सरकारको नेतृत्व आलोपालो गर्नेगरी सहमति गरेर बनेको समीकरणको भविष्यलाई लिएर शङ्का उब्जन थालेको छ । दुवै दलका कतिपय नेताहरू अहिलेको समीकरणलाई लिएर असन्तुष्ट हुनु, प्रतिस्पर्धी दलमा बढ्ने टसलको सम्भावना लगायतका विषयले कतिपय राजनीतिका जानकारहरू यो समीकरण समेत लामो समय नजाने विश्लेषण गर्ने गरेका छन । कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओली समीकरण लामो समय जाने तथा सहमति अनुसार नै आलोपालो नेतृत्व हुनेमा एक अर्कालाई आश्वस्त पार्ने गरि आउने गरेका अभिव्यक्तिले समेत कतिपयलाई शंका गर्ने ठाउँ दिएको छ ।
प्रतिपक्षहरू सत्ताको लगाम आफ्नो हातमा पर्छ कि भनेर मुख मिठ्याएपनि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक रसायन गज्जबको रहेको भन्दै समीकरण तलमाथि नहुने दाबी गर्नेहरु समेत छन । ओली र देउवाबीच सत्ता र शक्तिको बुझाइ साझा भएकाले ओलीका लागि काङ्ग्रेससँगको समीकरण कम्फर्टेबल हुने कतिपयको धारणा छ । देउवा र ओलीलाई सन्तुलनमा राख्ने काम सत्ता बाहिर पुगेको ३२ सिट सङ्ख्याको माओवादीको हुने विश्लेषण जानकारहरूको छ ।
यद्यपि लगातार जसो नेपाली कांग्रेसका नेताहरुले सरकारप्रति जनाइरहेको असन्तुष्टि, सत्ताउन्मुख प्रतिपक्षी दलको गृहकार्य आदिले राजनीतिक स्थायित्व सहितको विषय उठाएर बनेको समीकरणको आयुमा समेत शङ्का उत्पन्न हुन थालेको छ ।





