काठमाडौँ । वर्ष २०८१ ले  वर्षभरि नै नेपाली राजनीतिलाई तरङ्गित बनाइराख्यो ।  तरङ्गित राजनीति रहेकै समयमा वर्ष २०८२ प्रारम्भ भएको छ । नयाँ वर्षको उपलक्ष्यमा सबैजसो राजनीतिक दलका नेताहरूले शुभकामना दिएका छन ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिदैँ  सङ्घीय गणतन्त्र र समावेशी लोकतन्त्रको माध्यमले सबैमा समान रूपले स्वतन्त्रताको उज्यालो एवम् फराकिलो लोकमार्गमा मुलुक अघि बढ्दै गरेको भन्दै  आफ्नो भाग्य र भविष्य आफैँले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेको बताउनु भएको छ । 

उहाँले एउटा ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकाङ्क्षाको परिपूर्तिमा हुन गएको केही ढिलाई र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू एक एक गरी विस्तारै निस्तेज हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ वर्षले सबैखाले राजारजौटाबाट मुक्ति देओस् भनेर कामना गर्नुभएको छ । उहाँले अग्रगामी वैकल्पिक शक्तिहरू फस्टाउन भनेर पनि कामना गर्नुभएको छ ।

नयाँ वर्षले नेपाली जनतालाई सबै खाले राजा र रजौटाहरूबाट मुक्ति देओस् । अग्रगामी वैकल्पिक शक्तिहरू फस्टाउन । देशमा सुशासन र समृद्धिको ढोका खुलोस् । नयाँ वर्ष २०८२ विसंको सबैमा हार्दिक शुभकामना भट्टराईले शुभकामना सन्देशमा भन्नुभएको छ । 

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताउनु भएको छ । 

नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै अनेकौँ कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । 

यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ । 

नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना दिँदै उहाँले देशको समृद्धि र उज्ज्वल भविष्यका लागि दृढतापूर्वक आफ्ना पाइला अघि बढाउन आग्रह गर्नुभएको छ । 

उहाँले वर्ष २०८२ मा आत्मनिर्भर अर्थतन्त्रको विकास मार्फत रोजगारीको सिर्जनासँगै सुशासनका नयाँ मानक स्थापित गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । 

यस्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ वर्षसँगै मुलुक सुशासन र आर्थिक समृद्धिको बाटोमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0