
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सरकारको नेतृत्व आलोपालो गर्नेगरी सहमति गरेर बनेको समीकरणको भविष्यलाई लिएर शङ्का उब्जन थालेको छ । दुवै दलका कतिपय नेताहरू अहिलेको समीकरणलाई लिएर असन्तुष्ट हुनु, प्रतिस्पर्धी दलमा बढ्ने टसलको सम्भावना लगायतका विषयले कतिपय राजनीतिका जानकारहरू यो समीकरण समेत लामो समय नजाने विश्लेषण गर्ने गरेका छन ।
कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओली समीकरण लामो समय जाने तथा सहमति अनुसार नै आलोपालो नेतृत्व हुनेमा एक अर्कालाई आश्वस्त पार्ने गरि आउने गरेका अभिव्यक्तिले समेत कतिपयलाई शङ्का गर्ने ठाउँ दिएको छ । प्रमुख प्रतिपक्षी दलका अध्यक्ष पुष्पकमल दाहाल समेत पुनः ३२ सिटको जादु चल्नसक्ने बताइरहेका छन । तर प्रतिपक्षहरू सत्ताको लगाम आफ्नो हातमा पर्छ कि भनेर मुख मिठ्याएपनि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक रसायन गज्जबको रहेको भन्दै समीकरण तलमाथि नहुने दाबी गर्नेहरू समेत छन ।
ओली र देउवाबीच सत्ता र शक्तिको बुझाइ साझा भएकाले ओलीका लागि काङ्ग्रेससँगको समीकरण कम्फर्टेबल हुने कतिपयको धारणा छ । देउवा र ओलीलाई सन्तुलनमा राख्ने काम सत्ता बाहिर पुगेको ३२ सिट सङ्ख्याको माओवादीको हुने विश्लेषण जानकारहरूको छ । खासगरी शक्तिप्रति ओलीको उच्च महत्वाकाङ्क्षालाई बाहिर रहेको माओवादीको शक्तिले नियन्त्रण गर्ने बुझाइ जानकारहरूको छ । कांग्रेस र माओवादीको गठबन्धन भत्काउन कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बारम्बार अफर गरेका एमाले अध्यक्ष केपी शर्मा ओली तिनै देउवाको प्रस्तावमा प्रधानमन्त्री बनेर तीन वर्षपछि सिंहदरबारमा पुनरागमन गरेका हुन ।
प्रधानमन्त्रीमा ओली हुन् वा देउवा, बाहिर छँदा चर्को आलोचनामा उत्रिए पनि दुवैको प्रधानमन्त्री कालमा संवैधानिक निकायहरूको नियुक्ति आपसी भागबन्डामा हुने गरेको विगतलाई हेर्दा त्यस्तो समीकरण तत्काल तलमाथि हुने सम्भावना भने कम देखिन्छ । प्रतिनिधिसभा विघटनका बेलामा ओलीले आफू अनुकूल अध्यादेश जारी गरेर संसदीय सुनुवाइबिनै ५२ संवैधानिक पदाधिकारीको नियुक्ति गर्दासमेत् देउवाले भाग खोजेर मौन बसेको उदाहरण ताजै छ ।
तर बाहिर रहेको माओवादी केन्द्र ओलीका लागि दबाब बढाउदै लगेको देखिन्छ भने कांग्रेसकै इतर समूहका नेतामात्र होइन, देउवाकै विश्वासपात्र समेत अहिले ओली सरकारसँग सन्तुष्ट देखिदैनन् । कांग्रेस र माओवादी कुनै पनि बेला मिल्न सक्ने तरबारको धारमा रहेकाले पनि ओली नेतृत्वको समीकरण लामो जानेमा शंका गर्ने ठाउँ समेत छ । कांग्रेसकै इतर समूहका नेताहरू देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न चाहन्छन् ।
यस्तो अवस्थामा दुई दलबीच अलिकति तलमाथि हुनासाथ गठबन्धनको भविष्यमाथि फेरि प्रश्न उठ्न सक्ने अवस्था जिवितै छ । अहिले लगातार जसो सरकारको आलोचना भैरहेको समयमा त्यसैलाई बल पुग्नेगरि कांग्रेसका नेताहरुको अभिव्यक्ति निरन्तर आउँदा समीकरणमा भित्रभित्रै दरार देखिन थालिसकेको राजनीतिका जानकारहरूको वुझाई देखिन्छ । त्यसो त कांग्रेस र एमाले आपसमा प्रतिस्पर्धी दलमात्र होइनन, दुबै दलका शिर्ष नेता नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छन ।
राजनीतिक लाभ हानीले प्रभाव पार्ने सत्ता राजनीतिमा अहिले देखिएका केहि विषयले टसल बढाए लामो जाने ठानिएको सत्ता गठबन्धनमा तलमाथि हुने प्रसस्त ठाउँ छ । त्यसले पनि दुवै दलका शिर्ष नेताहरू एक अर्कालाई आश्वस्त पार्न लागेको देखिन्छ ।





