
काठमाडौ । नेपाली कांग्रेसभित्रको गुटगत प्रतिस्पर्धा नयाँ होइन । पार्टी स्थापना कालदेखिनै नेपाली कांग्रेसमा गुटको प्रभाव रहँदै आएको छ । कांग्रेस पार्टीको आन्तरिक जीवनमा नेतृत्व प्राप्ती, पदाधिकारीको पद प्राप्ती होस वा शक्ति आर्जन गर्न हुने आन्तरिक प्रतिस्पर्धाले पार्टीभित्र मात्र होइन आम निर्वाचनमा समेत प्रभाव पार्ने गरेको छ । गुटगत राजनीतिकै कारण कतिपय प्रभावशाली नेताहरू निर्वाचनमा पराजित हुने गरेका छन भने त्यसले समग्र कांग्रेसलाई नै कमजोर बनाउदै लगेको काङ्ग्रेसवृत्तमै चर्चा हुने गरेको छ ।
हालै कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा ७७ जिल्ला सभापति तथा प्रशिक्षण शाखा प्रमुखहरूलाई भेला गरेर प्रशिक्षण गरेको छ । प्रशिक्षणमा सभापति शेरबहादुर देउवादेखि जिल्ला सभापतिहरूले समेत २०८४ सालमा हुने निर्वाचनमा कांग्रेसलाई हराउन कसैले नसक्ने तर आफैँभित्रका अन्तर्घातीहरूले सक्ने भनी पार्टीभित्रको महारोग औँल्याएका थिए । तर यसरी रोगको पहिचान गर्नेहरूले त्यसो रोगबाट कांग्रेसलाई बचाउने सामथ्र्य भने राख्दैनन् । बरु तिनै कांग्रेस नेता, कार्यकर्तापनि गुटगत राजनीतिमै व्यस्त देखिन्छन । पोखरामै भएको कार्यक्रममा संस्थापन पक्षीय नेताहरूले संस्थापन इतरलाई वेवास्ता गरेको भन्दै आलोचना हुने गरेको छ । गुटगत राजनीतिको अन्य हुनुपर्ने बताउने गरेकै नेताहरु गुटगत शक्ति बलियो बनाउदै पार्टीमा प्रभाव कायम राखिराख्ने चाहनाले कांग्रेसलाई कमजोर बनाउने काङ्ग्रेसवृत्तमै चर्चा हुने गरेको छ ।
नेपाली कांग्रेसमा पार्टीको आन्तरिक निर्वाचनमा मात्र होइन, अर्को गुटको उम्मेदवारलाई हराउन आम निर्वाचनमै नेताहरूले शक्ति खर्चने गरेका छन । त्यो नयाँ विषय भने होइन । कांग्रेसमा यो परम्परा जस्तै बनिसकेको छ । कुनै समय पार्टीभित्रकै तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइरालानिकट नेता तथा कार्यकर्ताहरूले तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईविरुद्ध आफ्नो मत जाहेर गरेर निर्वाचन हराइएको तथ्य कांग्रेस नेता कार्यकर्ताहरुले अझै विर्शेका छैनन । नेतृत्वमा पुग्न र शक्ति र सत्ताको बागडोर गिरिजाप्रसाद कोइरालाको हातमा पार्न तत्कालीन नेता भट्टराईलाई हराएर मार्ग प्रसस्त त गरियो । तर त्यहि रोग अहिलेपनि कांग्रेसभित्र जकडिएर बसेको छ । जुन विषयमा कांग्रेसको पोखरा भेलामा चिन्ता प्रकट गरियो, त्यो २०४८ को आमचुनावबाटै चर्चामा आएको हो । शक्ति आर्जनको चाहनामा गुटगत राजनीति र अन्तरघातको तत्कालीन सिलसिला अझै रोकिएको छैन ।
समय समयमा यसरी अन्तरघात गर्नेहरूलाई कांग्रेसले कारवाही समेत गरेको छ । यद्यपि लोकतान्त्रिक पार्टीमा अन्तर्घातका जीवाणुहरू नमज्लाले फैलिसकेका छन । यहि कारणले कांग्रेसमा यदाकदा पार्टीको आधिकारिक उम्मेदवार निरीह सावित हुन पुगेका थुप्रै उदाहरण छन । कांग्रेसमा फैलिएको यो रोग वर्तमान अवस्थामा थप फैलिएको देखिन्छ । नेता कार्यकर्ता उपस्थिति कार्यक्रममा गुटको प्रभाव कम गर्ने अन्तरघातको समस्या समाधान गर्ने वाचा त नेताहरूले गर्ने गरेका छन । तर आफुले शक्ति आर्जन गर्ने ध्याउन्नमा समग्र पार्टी कमजोर बन्दै जादा समेत यसलाई कम गर्ने सार्थक प्रयासमा भने कोही लागेको देखिदैन ।
त्यसैले पोखरामा जाहेर गरेको चिन्ता भाषणमै सिमित हुने निश्चित जस्तै छ । कांग्रेसमा देखिएको यो समस्या समाधान होला भनेर विश्वास गर्ने ठाउँ भने देखिदैन ।





