काठमाडौ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित ५ जनालाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।

आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले आजदेखि बयान हुने छ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ ।

जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर भएसँगै रास्वपा सभापति लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सम्पत्ति शुद्धीकरणको अभियोग गर्दा हुनासाथ सार्वजनिक पदमा रहेको व्यक्ति स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । सरकारी वकिलको कार्यालय, कास्कीले संघीय संसद सचिवालयलाई पत्र पठाएर उनको निलम्बनवारे औपचारिक जानकारी दिएको छ । जिल्ला अदालतमा मुद्दा नटुङ्गिदासम्म उनी निलम्बनमा हुनेछन् ।

प्रहरीले सहकारीको रकम व्यक्तिगत रूपमा अनि गोर्खा मिडियामा संस्थागत रूपमा समेत अपचलन गरेको आरोपमा जीबी राई, छविराज जोशी अनि रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाएको छ ।अभियोगपत्रमा उल्लेखित विवरण अनुसार, कास्कीपछि रूपन्देही, चितवन, काठमाडौं र पर्सामा पनि सहकारी ठगीको आरोपमा अनुसन्धान र अभियोजन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0